झापा । जनता समाजवादी पार्टी नेपालले सत्ता गठबन्धनमा रहेका मुख्य दलहरूले पार्टी विभाजन गरेको निष्कर्ष निकालेको छ ।
मंगलबार सम्पन्न केन्द्रीय समितिको बैठकले सो निष्कर्ष निकालेको हो ।
बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले पार्टी विभाजनमा माओवादी केन्द्र र एमालेको हात रहेको धारणा राखेका थिए । पार्टी विभाजन गर्ने नेताहरू महाधिवेशनबाट डराएर सत्तामोहमा परेर सत्ता गठबन्धन दलको मोहरा बनेको निष्कर्ष समेत निकालेको छ ।
जनकपुरमा महाधिवेशन हुने, विधान संशोधन गर्ने
जसपा नेपालले आफ्नो विधान संशोधन गर्ने भएको छ । १ सय ५१ सदस्यीय कार्यसमितिलाई २ सय ५१ सदस्यीय बनाउने निर्णय गरेको प्रवक्ता सुमनले जानकारी दिए ।
त्यस्तै, हाल एक जना महासचिव रहेकोमा अब विधान संशोधन गरी दुई जना महासचिव बनाउने निर्णय गरेको छ । तीन जना उपाध्यक्ष रहने प्रावधान विधानमा रहेको छ । त्यसलाई पाँच पुर्याउने निर्णय समेत गरेको छ ।
विधान संशोधनको निर्णय केन्द्रीय समितिको बैठकबाट निर्णय भइसकेको छ । त्यसलाई महाधिवेशनबाट पारित गर्ने भएको छ ।
जेठ २८ गतेदेखि जनकपुरमा महाधिवेशनको हुने भएको छ । महाधिवेशनका लागि जेठ १० गतेभित्र महाधिवेशन प्रतिनिधि चयन गरिसक्नुपर्ने पनि निर्णय पार्टीले गरेको छ ।
पार्टी विभाजन गर्नेहरूको भण्डाफोर गर्ने
जसपाले पार्टी विभाजन गर्नेहरूको भण्डाफोर गर्ने कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । जिल्ला जिल्लामा कार्यक्रमको आयोजना गरी भण्डाफोर गर्ने निर्णय भएको छ , त्यसका लागि जिल्ला समितिहरूले कार्यक्रमहरू तय गर्नेछन् ।
पार्टी विभाजनमा संलग्न जसपाका ३२ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ । अशोक राईको नेतृत्वमा वैशाख २३ गते पार्टी विभाजन भएको छ । राईको नेतृत्वमा जनता समाजवादी पार्टी गठन भइसकेको छ । निर्वाचन आयोगले पनि मान्यता दिइसकेको छ ।
जसपाको ३२ सदस्यीय केन्द्रीय कार्यसमिति रहेको छ । ती सबै जनालाई जसपा नेपालले कारबाही गरेको छ । जसपा नेपालले पार्टी विभाजनमा मुख्य भूमिका खेलेका सात जना सांसदसहित निर्वाचन आयोगमाथि सर्वोच्च अदालतमा मुद्दा पनि दायर गरिसकेको छ ।