झापा । ज्ञानोदय शिक्षक बचत तथा ऋण सहकारी संस्था लिमीटेड भद्रपुर–८ चन्द्रगढीको १५ औं बार्षिक साधारण सभाको अवसरमा १६ जनालाइ सम्मान तथा पुरस्कृत गरेको छ । समितिका अध्यक्ष गोपीकृष्ण न्यौपानेको सभापतित्व तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा शनिबार चन्द्रगढीमा सम्पन्न भएको कार्यक्रममा शेयर सदस्य ,विद्यार्थी ,शिक्षक लगायतलाई सम्मान तथा पुरस्कृत गरेको हो ।
कार्यक्रममा उत्कृष्ट बचत र ऋणीमा क्रमशः दमयन्ती शर्मा,फुलकुमारी हेमरन ,उत्कृष्ट सदस्य सन्तती पुरस्कारबाट कक्षा १२ मा सामुदायिक विद्यालय तर्फका रेमन अधिकारी र संस्थागतबाट अजेश बस्नेतलाइ सम्मानसहित पुरस्कृत गरिएको थियो । त्यसैगरी शेयर सदस्य सम्मानबाट साइकोलोजी विषयमा पिएचडी गर्ने डाक्टर प्रतिक भण्डारी र संस्थाका सल्लाहकार संयोजक एवम पूर्व अध्यक्ष गोकुलराज न्यौपानेलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालयबाट अवकाश प्राप्त शिक्षक एवम शिक्षिका अर्जुन कुमार पौडेल,कल्पना पोखरेल, तोयानाथ खतिवडा, कल्पना पोखरेल राउत, रेखा निरौला, मित्रबहादुर बस्नेत, बालानाथ रेग्मी, विजय कुमार बस्नेत, मिरा कुमारी पौडेल र शरदचन्द्र खनाललाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष न्यौपानेले गत आर्थिक वर्ष २०८०। ८१ मा ७१ लाख ४३ हजार २५ रुपैयाँ ८३ पैसा आम्दानी गरी २४ लाख ६४ हजार ७ सय ७४ रुपैयाँ ९० पैसा बचत र चालु आर्थिक वर्ष २०८१ । ८२ का लागि ७३ लाख ४८ हजार ५ सय आम्दानीको लक्ष्य लिएको सांगठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका उपाध्यक्ष धनकुमारी खरेल(लता)ले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि पोखरेलले संस्थाको प्रशंसा गरेका थिए ।
त्यसैगरी जिल्ला बचत सङ्घ झापाका सञ्चालक समिति सदस्य दिपक शिवाकोटी र जिल्ला सहकारी सङ्घका सञ्चालक समितिका सदस्य हरिकृष्ण अधिकारीले मन्तव्य राखेको कार्यक्रममा सरस्वती आधारभूत विद्यालय हल्दीबारीका २ का शिक्षिकाहरुले सन्देशमुलक नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सञ्चालन समितिका सचिव डिल्लीराम अधिकारीले गरेका थिए भने अध्यक्ष न्यौपानेले धन्यवाद दिएका थिए ।
५१ जना शेयर सदस्यबाट सुरु गरिएकोमा संस्थामा हाल २ सय २१ महिलासहित ४ सय ५१ जना शेयर सदस्य रहेका छन् भने ६ करोड २८ लाख ३६ हजार ८ सय ३२ रुपैयाँ ११ पैसा शेयर पूँजीरहेको तथ्याङ्कमा उल्लेख छ ।