झापा / झापाकाे विर्तामोड नगरपालिका वडा नम्बर ६ स्थित सितलनगर टोल, बेलगाछीकी सरिता वि.क.लाई उर्जाशील रामधुनी आमा समूहले सहयोग गरेकाे छ ।
समूहले आफ्नो मासिक कार्यक्रमलाई सेवा कार्यमा रूपान्तरण गर्दै पीडितको घरमै पुगेर आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।यस अवस्थाको जानकारी पाएपछि विर्तामोडमा सक्रिय “उर्जाशील रामधुनी आमा समूह“ सरिताको सहयोगार्थ अगाडि बढेको छ ।
समूहकी सल्लाहकार सदस्य कला बस्नेतका श्रीमानको जन्मदिनको अवसरलाई सामान्य भोजभतेरमा खर्च नगरी, समाजसेवामा रुपान्तरण गर्ने सोचले यो सहयोग कार्यक्रम सम्भव भएको हो । संस्थाको तर्फ बाट साथै कार्यक्रमका सम्योजक बस्नेतको एकल पहल र समूहका सदस्यहरुको व्यक्तिगत योगदानमा संकलित रकम सरितालाई हस्तान्तरण गरिएको हो ।
स्तन क्यान्सर जस्तो गम्भीर रोगले पीडित भई उपचारको आवश्यकता रहे पनि आर्थिक अभावका कारण उनी रोग बोकेर घरमै बस्न बाध्य भएकी छिन् । ३ वर्षीया सन्तानकी आमा सरिताका श्रीमान जगत बहादुर बिश्वकर्मा चिया बगानमा मजदुरी गरेर जीविका चलाउँदै आएका छन् । तर उनीको न्यून आयले क्यान्सरजस्तो खर्चिलो उपचार सम्भव नभएपछि, परिवार आर्थिक संकटमा परेको छ । भरतपुरस्थित क्यान्सर अस्पताल वा झापाकै पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचारका लागि आवश्यक रकम अभाव भएपछि, उनी अस्पताल पुग्न नसकी घरमै पिडा सहन बाध्य भएकी छिन् ।