झापा । चालु आर्थिक वर्ष सकिन केही महिना बाँकी हुँदासमेत स्वास्थ्य कार्यालय झापाले महत्वपूर्ण कार्यक्रम सञ्चालन गरेको छैन । स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने सो कार्यालयका कार्यालय प्रमुखको लापारबाहीका कारण कार्यक्रम नै प्रभावित बनेको तथ्याङ्कले पुष्टि हुन्छ ।
चालु आर्थिक वर्षमा केन्द्रबाट क्षयरोग कार्यक्रमका लागि २ लाख ७५ हजार रुपैयाँ निकासा भएपनि फागुन महिनासम्म स्वास्थ्य कार्यालयको तर्फबाट कुनै गतिविधि गरेको देखिदैन । त्यसैगरी असाहय तथा गरिब विरामीहरुका लागि उपचारभर पोषण भत्तामा ५ लाख ४९ हजार रकम त्यतिकै रहेको छ । त्यस्तै औलो तथा कालाजार रोग प्रभावित क्षेत्रमा विषादी छिड्काउ कार्यक्रममा १२ लाख रुपैयाँ बजेट आएपनि कुनै खर्च गरेको तथ्याङ्कले देखाउँदैन । समग्रमा स्वास्थ्य कार्यालयले यस्ता धेरै स्वीकृत कार्यक्रमहरु सञ्चालन गरेको पाइदैन ।
गत वर्ष पनि विद्यालय स्वस्थ्य शिक्षा कार्यक्रममा आएको एक लाख रुपैयाँमा २० हजार रुपैयाँ खर्च र आमा सुरक्षामामा आएको १९ लाख बजेटमा १२ लाख भन्दा बढी रुपैयाँ फिर्ता भएको देखिएको छ । सञ्चारमा बजेट छैन भन्दै मिडियालाइ भुत्तानी गर्न अनकनाउने कार्यालयले गत बर्ष १० हजार रुपैयाँ भन्दा बढी बजेट फिर्ता भएको देखिएको छ ।
कार्यालय प्रमुख रमेश बारकोटीले कार्यक्रमहरु क्रमश सञ्चालन भइरहेको तर भूत्तानी दिन बाँकी देखिएको हुनसक्ने भन्दै बचाउ गरेका छन् । बारकोटीले भने अनुसार लेखा शाखाको तथ्याङ्क मिलेको देखिदैन । कार्यक्रम सञ्चालन भन्दा पनि स्वास्थ्य संस्था नविकरण र अनुमति दिने तर्फ बारकोटीको ध्यान केन्द्रीत हुने गरेको स्रोतले बताएको छ । उनका कारण स्वास्थ्य कार्यालयमा वेतिथि देखिदै आइरहेको प्रष्ट हुन्छ ।
गत वर्ष क्षयरोग सम्बन्धी कार्यक्रम सञ्चालन भएपनि यो बर्ष खोजपडताल,तथ्याङ्क सङ्कलन लगायतका कार्यक्रम सञ्चालन गरेको देखिदैन । त्यसैगरी बर्षायाममा लामखुटटे विरुद्धको औषधी समेत नछर्केको, लार्भा खोजी नष्ट नगरेको लगायतका कामहरु प्रमुख बारकोटीले गरेका छैनन । बजेट हँुदा समेत यस्ता कार्यक्रम सञ्चालन नगर्नु कार्यालय प्रमुखले लापारबाही गरेको पुष्टि हुन्छ । कार्यालय प्रमुखले आदेश दिए पो हामी कर्मचारीले काम गर्ने त उहाँले केही नभनेपछि हामी कर्मचारीले के गर्नु र ? केही कर्मचारीले बताए ।
बारकोटीले स्वास्थ्य कार्यालय झापामा प्रमुखको कार्यभार सम्हालेको दुइबर्षभन्दा बढी भइसकेको छ ।