झापा / संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालका हिमालमा देखिएको जलवायु परिवर्तनको असरबारे आफूले दिएको चेतावनी अहिले वास्तविकतामा परिणत भएको बताएका छन्।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय उद्घाटन सत्रलाई मंगलबार सम्बोधन गर्दै गुटेरेसले तीन वर्षअघि नेपाल भ्रमणका क्रममा हिमालमा देखिएको तीव्र हिमपग्लाइबारे आफूले चेतावनी दिएको स्मरण गरेका थिए। त्यतिबेला विश्वको छानो खसिरहेको विषयलाई कतिपयले बढाइचढाइ गरिएको भन्दै अस्वीकार गरेको उनले उल्लेख गरेका छन्।
तर अहिले नेपालमा देखिएका विपद्का घटनाले जलवायु संकटको असर अपेक्षा गरिएभन्दा छिटो, गम्भीर र व्यापक रूपमा देखा पर्न थालेको प्रमाणित गरेको गुटेरेसले बताएका छन्। उनले जलवायु परिवर्तनबाट हुने जोखिम अब भविष्यको सम्भावना नभई वर्तमानको वास्तविकता बनिसकेको बताएका छन्।
नेपालमा पछिल्लो समय बाढी, पहिरो र हिमाली क्षेत्रमा देखिएका विभिन्न प्राकृतिक विपद्का घटनालाई जलवायु परिवर्तनसँग जोड्दै गुटेरेसले जलवायु संकटको सबैभन्दा ठूलो भार भने त्यसका लागि कम जिम्मेवार मुलुकहरूले व्यहोर्नुपरेको बताएका छन्।
उनले जलवायु परिवर्तनबाट हुने क्षति कम गर्न विकसित मुलुकहरूले अनुकूलनका लागि उपलब्ध गराउने वित्तीय सहयोग बढाउनुपर्ने र जलवायुजन्य हानि तथा क्षति कोषलाई पर्याप्त स्रोतसहित प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।
गुटेरेसले प्रदूषण गर्नेहरूले त्यसको मूल्य चुकाउनुपर्ने धारणा अघि सार्दै जलवायु न्याय सुनिश्चित गर्नुपर्ने बताएका छन्। उनका अनुसार अहिलेको पुस्ताले भविष्यका पुस्तामाथि जलवायु संकटको भार सारिरहेको छ।
यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका छन्। प्रधानमन्त्री शाहले बिहीबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। नेपालको पछिल्लो बाढीपहिरो र जलवायु परिवर्तनका असरका विषय उनको सम्बोधनमा समेत उठ्ने अपेक्षा गरिएको छ।
गुटेरेसको पछिल्लो अभिव्यक्तिले नेपालका हिमालमा देखिँदै आएको जलवायु संकटलाई फेरि अन्तर्राष्ट्रिय बहसको केन्द्रमा ल्याएको छ।