झापा । चिया मजदुरले दुई महिनादेखि ज्याला
नपाएपछि दैनिक गुजारा चलाउन कठिन भएको छ । गिरीबन्धु टी–स्टेटमा कार्यरत चिया बगानका मजदुरहरुले दुई
महिनादेखी तलव नपाएपछि समस्या भएकाे हाे ।
चिया बगानमा कार्यरत १७० जना चिया मजदुरले १२-१२ दिनमा पाउँदै आएको तलव सुविधा नपाएको गुनासो गरेका छन् ।
चिया टिपेको ज्यालाबाट विहान बेलुकाको दैनिकी चलाउने चिया मजदुरले साहुले पनि बाँकी दिन छोडेको बताएका छन् । साहुले रासन उधारो नदिएपछि भोकभोकै काम गर्नु परेको उनीहरुको भनाई छ ।
चिया मजदुर एवम् मजदुर नेतृ सावित्रा बञ्जराले खाली पेटमा चिया टिपाई भईरहेको बताइन् । अब भोकभोकै काम गर्न नसक्ने अवस्थामा पुगेको भन्दै तत्काल मजदुरको ज्याला उपलब्ध गराइदिन माग गरिन् ।
तीन पुस्ताले चिया टिपेको बगानमा अहिले आएर सञ्चालकहरुबाट मजदुरमाथि अन्याय भइरहेको उनको भनाई छ । भोकमरी सहेर पनि साहुको काम गरिरहेको बताउँदै बञ्जराले अनेक समस्याहरुका बाबजुत काम गर्नुपरेको बताइन् । उनले मजदुरको ज्याला दिलाई दिन सरोकारवालासँग आग्रह समेत गरेकी छन् ।
तत्कालै चिया मजदुरले पाउनुपर्ने वेतन नपाए आन्दोलनमा जाने चिया मजदुरको
भनाई छ । उनका अनुसार भोकै काम गर्ने चिया मजदुरमाथि कुनै दुर्घटना भए
त्यसको जिम्मेवारी सञ्चालकहरुले लिनुपर्ने छ ।
दैनिक ५ सय रुपैयाँका दरले ज्याला पाउने चिया मजदुरहरुले बाँकी भुक्तानी गर्न नसक्दा रासनको जोहो गर्न नसकेको मजदुरहरुको भनाई छ ।
बगान फाड्ने र घाटाको समस्या देखाउदै उनीहरुलाई दिनुपर्ने ज्यालामा कम्पनीले आलटाल गर्दै आएको छ । यता, चिया मजदुर सुकमती देवानले दैनिक रुपमा चिया पत्ति टिपेर बुझाइरहँदा पनि कम्पनीले घाटा भएको बताउने गरेको जानकारी दिइन् । १२ दिनको तलव जबरजस्ती बुझुनका लागि दवाव आइरहेको देवानको भनाई छ । कम्पनीको तर्फबाट चिया बगान बन्द गर्ने जस्ता धम्की दिदैं मजदुरलाई ज्याला रोकिरहेको उनीहरुको भनाई छ । बगानको स्याहार समेत हुन छोडेको बताउँदैं चिया मजदुर देवानले मजदुरको असुरक्षा भइरहेको बताइन् ।
नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ गिरीबन्धु इकाईका अध्यक्ष नारायण दर्जीले श्रम गर्ने मजदुरले अब भोकै काम गर्न नसक्ने बताए । श्रम गर्ने मजदुरलाई तत्काल भुक्तानी दिन दर्जीले आग्रह गरेका छन् ।
बगानका व्यवस्थापक सन्त कुमार राईले कम्पनीसँग पैसा नभएका कारण भुक्तानी दिन नसकेको स्वीकार गरेका छन् । उनले आर्थिक संकटकै कारण मजदुरको भुक्तानी रोकिएको बताए ।