सताक्षीधाममा गोरक्षा महोत्सवको उद्घाटन

देश प्रदेश डेस्क 5097+ समाचार ( )
१७ मंगशिर २०८१, सोमबार

झापा झापाको सताक्षीधाममा आजदेखि सुरु भएको गोरक्षा महोत्सवको उद्घाटन गरिएकाे छ ।  श्री विभूषित जगतगुरु मोहनशरण देवाचार्यजी महाराजले उदघाटन गरेका हुन् । 

उदघाटन गर्दै उनले गौहत्याजस्तो संवेदनशील विषयमा राज्यपक्ष उदासीन भएको आरोप लगाएका छन् । पछिल्लोपटक झापाको कन्काई र अर्जुनधारा नगरपालिकामा गाईको हत्या भएको घटनाले हिन्दू धर्ममाथि चारैतिरबाट आक्रमण भइरहेको पुष्टि भएको उनले बताए । चतराधामका पिठाधिपतिसमेत रहेका बालसन्त मोहनशरण देवाचार्यजी महाराजले  हिन्दु सनातनी धर्मालम्बीहरूले आमा समान मानेकी गाईको हत्या र अवैध ओसारपसार गरिन्छ भने यस्ता अपराधपूर्ण घटना हिन्दु धर्मालम्बीहरुलाई मान्य नहुने उनले बताए । अपराधपूर्ण घटनामा संलग्न हत्यारा र मतियारलाई संसारभरका हिन्दु एक भएर ठेगान लगाउने उनले चेतावनी दिए ।

गौहत्याको घटनालाई सरकारले सामान्य रूपमा नलिन उनले जनाए । धर्मगुरु सडकमा आउनुपर्यो भने त्यसको मूल्य निकै ठूलो गरी सरकारले चुकाउनु पर्ने उनकाे भनाइ थियाे ।

गौहत्याको विषयमा गम्भीर र भावुक भएको उनले बताए । सरकारले गौहत्यामा संलग्न भएका व्यक्तिलाई पक्राउ गरेर कारबाहीको प्रक्रिया अघि बढाएको छ । यसले थोरै भएपनि हिन्दु धर्मावलम्बीहरूलाई आशा र भरोसा दिएकाे हुदाँ  गौहत्यामा संलग्न अपराधीलाई हदैसम्मको कानुनी कारबाही हुनेछ भन्ने  विश्वास लिएकाे उनले जनाए ।

ऋगवेददेखि भागवतसम्म सबै धर्मग्रन्थमा गौमाताको महिमा वर्णित भएकाेले  आमा समान मानेकी गाईलाई कसैले गिद्धे नजरले नहेर्न उनले चेतावनी दिए ।

बालसन्तले संस्कृतको एउटा श्लोक वाचन गर्दै भने ‘धर्मो रक्षति रक्षितः’ अर्थात्, जसले धर्मको रक्षा गर्छ, धर्मले त्यसको रक्षा गर्दछ । धर्मले सबैलाई एक ठाउँमा जोड्छ भने राजनीतिले सबैलाई फुटाउँछ । त्यसैले राजनीति जोगाउनुभन्दा पनि धर्म जोगाउनतर्फ सबै अग्रसर हुन उनले आग्रह गरे ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रा (रोशन) ले गोलोक गोवर्धन गौशाला सताक्षीधाममा स्थापना भएपछि यो क्षेत्र धार्मिक व्यक्ति र सन्त महात्माहरुका लागि पहिलो रोजाई र पर्यटकीय हिसाबले पनि आकर्षक गन्तव्य बनेको बताए । गौशालामा गाईको सेवा गर्न आएका नेपाललगायत विश्वका कयौँ मुलुकका धार्मिक व्यक्तित्व, धर्मगुरु, सन्त महात्माहरूको आगमनले सताक्षीधामको शान थपिएको उनले बताए  । शिवसताक्षी नगरपालिकाले गोरक्षा महोत्सव भव्य रूपमा सफल पार्नको लागि एक दिन सार्वजनिक बिदा दिएर अदृश्य योगदान गरेको बताए ।सताक्षीधामलाई धार्मिक पर्यटनका रूपमा विकास गर्न स्थानीय सरकारको हैसियतले कुनै कसर बाँकी नराख्ने नगर प्रमुख थोप्राले बताए ।

कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, रुद्र– गौरी– श्री अम्बिका ओली प्रतिष्ठानका केन्द्रीय कोषाध्यक्ष यज्ञराज ओली, सताक्षीधाम धार्मिक तथा पर्यटकीय विकास संस्थाका पूर्व अध्यक्ष प्रसाद सुब्बालगायतले अनकन्टार जङ्गल क्षेत्रमा सन्तको आवागमन भएपछि सताक्षीधाम देवभूमिको रुपमा स्थापित भएको बताए ।

सडक, बिजुली, इन्टरनेट, विभिन्न किसिमका मठमन्दिर लगायतका करोडौ लागतमा निर्माण भएका संरचना निर्माणमा गोलोक गोवर्धन गौशालाको अतुलनीय भूमिका रहेको उनीहरुले बताए ।

कार्यक्रम गोलोक गोवर्धन गौशालाका अध्यक्षसमेत रहेका संरक्षक नन्दकिशोरजी महाराजको अध्यक्षतामा भएको थियो ।
यसैबीच अनन्त श्री विभूषित नेपालका प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्यजी महाराजले सवा करोड रुद्राक्षको दानाजडित ५१ फिट अग्लो शिवलिङ्गको अनावरण गरेका छन् ।

शिवलिङ्ग परिसरमा विशेष पूजा अर्चना गरेर बालसन्तले शिवलिङ्गको अनावरण गरेका हुन् । यस्तै १ करोड १५ लाखमा निर्माण भएको तीन तले बहुउपयोगी अन्नपूर्ण भण्डारको पनि उद्घाटन गरेका छन् । सो भवनको पहिलो तलामा भोजनालय, दोस्रो तला सभाहल र तेस्रो तलामा सन्त महात्माका लागि आवास निर्माण गरिएको छ ।

गोरक्षा महोत्सवअन्तर्गत साेमबार नै श्री लिङ्ग महापुराणको पनि उद्घाटन गरिएको छ। यो कथा मङ्सिर २४ गतेसम्म सञ्चालन हुने आयोजक गोलोक गोवर्धन गौशालाले जनाएको छ ।

यस्तै रुद्र – गौरी–श्री अम्बिका ओली प्रतिष्ठानकी संस्थापक केन्द्रीय कोषाध्यक्ष तुलसादेवी ओलीले १ लाख ५१ हजार नगदको अक्षयकोष स्थापना गरेकी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार