झापा । झापामा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले लागू पदार्थ सेवन परीक्षण अभियान (लापसे) सञ्चालनमा ल्याइएको छ । पछिल्लो समय लागू पदार्थ सेवन गरेर सवारी चलाउनेको संख्या बढ्दै गएर सवारी दुर्घटना बढेपछि त्यसको न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले लागू पदार्थ सेवन परीक्षण अभियान सञ्चालनमा ल्याएको हो । ट्राफिक प्रहरीले गत असार २४ गतेबाट झापामा लागू पदार्थ सेवन परीक्षण अभियान सञ्चालनमा ल्याएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सहायक प्रहरी निरीक्षक याम खड्काले जानकारी दिए ।
मादक पदार्थ सेवनसँगै लागू पदार्थ सेवन गरेर सवारी सञ्चालन गर्दा दुर्घटना बढेको पाइएसँगै ट्राफिक प्रहरीले लागू पदार्थ सेवन परीक्षण अभियानलाई पनि तीव्रता दिएको उनले बताए । मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कारबाही गर्दै आएको ट्राफिक प्रहरीले लागू पदार्थसमेत सेवन गरी सवारी चलाइएको पाइएपछि स्वास्थ्य प्राविधिक टोलीसहित किटको प्रयोग गरी परीक्षण अभियान सञ्चालन गर्दै आएको उनले जानकारी दिए । लागू पदार्थ सेवन गरेर सवारी सञ्चालन गर्दा अपराधका घटनामा वृद्धि हुनुका साथै दुर्घटनासमेत वृद्धि हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए ।
मादक पदार्थसँगै लागू पदार्थ प्रयोग गरेर पनि सवारी चलाउने क्रम बढेपछि लागू पदार्थ सेवन परीक्षण अभियान सुरु गरिएको उनले बताए । मादक पदार्थ सेवनसँगै लागूपदार्थ सेवन गरेर सवारी चलाउँदा आफ्नोमात्रै नभई यात्रुको ज्यानसमेत जोखिम हुने हुँदा सचेत हुन चालकलाई उनले आग्रह गरेका छन् । दुर्घटनालाई न्यूनीकरण गर्नका लागि यो अभियानको प्रारम्भ गरिए पनि पर्याप्त मात्रामा लागू पदार्थ सेवन परीक्षण गर्ने किट नहुँदा समस्या आएकाले उनले बताए । पछिल्लो समय लागूपदार्थ सेवन गरेर मोटरसाइकल चलाउँदा अनियन्त्रित भई दुर्घटना र मानवीय क्षति धेरै हुने गरेको उनले जानकारी दिए ।
पूर्वीनाका काँकडभिट्टामा लागुऔषध नियन्त्रणको नयाँ प्रयोगका रूपमा लागू पदार्थ सेवन परीक्षण अभियान सञ्चालनमा ल्याइएको ट्राफिक प्रहरी पोष्ट काँकडभिट्टाका प्रहरी नायव निरीक्षक लिलाकुमार श्रेष्ठले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकडभिट्टा तथा ट्राफिक प्रहरी पोष्ट काँकडभिट्टाको आयोजनामा मेची नगरपालिकाबाट उपलब्ध गराइएको स्वास्थ्यकर्मीको सहकार्यमा मेची बस व्यवसायी संघका प्रतिनिधि, स्वतन्त्र यातायात मजदुर संगठनको सहभागितामा काँकडभिट्टामा लागू पदार्थ सेवन परीक्षण अभियान सञ्चालनमा ल्याइएको उनले बताए ।
लागू पदार्थ सेवनका कारण सवारी दुर्घटनासमेत बढ्न थालेपछि सीमा क्षेत्रबाटै यसको परीक्षण अभियान सञ्चालनमा ल्याइएको उनले बताए । राजमार्गमा सवारीसाधन चलाउने चालक तथा सहचालकको लागू पदार्थ सेवन परीक्षण गर्ने गरेको बताउँदै उनले त्यसको परीक्षणका लागि काँकडभिट्टा खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन काँकडभिट्टाले किट उपलब्ध गराएको जानकारी दिए । ती संस्थाले ५७ वटा किट उपलव्ध गराएकोमा २९ वटा किट प्रयोग गरिएको उनले बताए ।