झापा / झापाको भद्रपुर नगरपालिकाले दोस्रो भद्रपुर नगर युवा समिट २०८२ कार्यक्रम यहि जेठ २३ र २४ गते होटल डे ग्लोमा गर्ने भएकाे छ।
बुधबार नगरपालिकाले आफ्नै भवनमा गरेको पत्रकार सम्मेलन मार्फत भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले सो कार्यक्रमको बारेमा जानकारी गराएका थिए।
कार्यक्रमको थिम "युवाहरूको सशक्तिकरण, जलवायु कार्य, नेतृत्व विकास र स्थानीय विकासमा हातेमालो" रहेको छ भने मुख्य उद्देश्य नेतृत्व विकास युवा परिचालन र स्थानीय विकासमा सहभागिताका लागि सकारात्मक उत्प्रेरणा प्रदान गर्ने रहेकाे छ । त्यसैगरी जलवायु परिवर्तनको विश्वव्यापी प्रभाव र नेपालको वर्तमान अवस्था साथै सञ्चालन गर्नुपर्ने कार्यक्रमहरूको विषयमा बहस पनि गरिने अर्को उद्देश्य रहेको छ। यस कार्यक्रमबाट युवाहरूले जीवनलाई उपयोगी र व्यावहारिक धारणासहित जिउन उत्प्रेरित गर्ने सक्नेछन् ।
सो कार्यक्रममा प्रत्येक वडाबाट ६ जनाको दरले ६० जना, खुल्ला अनलाइन आवेदनबाट १०० जना, सङ्घ संस्थाबाट ३० जना, नगर युवा परिषद सदस्य तथा प्रतिनिधि १० जना र पर्यावेक्षक सहभागी २० जना गरी जम्मा २२० जना सहभागी हुनेछन् ।