कालोपत्रे बनाउन माग गर्दै सडक अवरुद्ध
कालोपत्रे सडक निर्माणको माग राख्दै
स्थानीयले बिर्तामोड–भद्रपुर सडक–खण्ड अन्तर्गत चन्द्रगढी लेखनाथ चोकको सडक
अवरूद्ध पारेका थिए । चन्द्रगढी आसपासका स्थानीयले आइतबार बिहान लेखनाथ
चोक र उत्तरतर्फ खानेपानी कार्यालयछेउमा ढाट र अन्य सामग्री राखेर सडक बन्द
गराएका थिए । धुलोका कारण सडकमा बसीनसक्नु भए पनि
अब पानी हालेर धुलो बन्द गर्ने हैन, कालोपत्रे सडक नै एक सूत्रीय माग राखेका थिए । सडक अवरुद्ध पारेपछि भद्रपुर नगरका मेयर गणेश पोखरेल सहितका जनप्रतिनिधिले
छलफलका लागि आज सोमबार निधाे गरेपछि सडक सुचारु भएको छ ।
ठेक्का लागिसकेपनि निमार्ण
कार्य सुचारु नगरेको भन्दै स्थानीयहरुले सडक अवरोध गरेका थिए । उनीहरुले
मोटरसाइकल,साइकल र अत्यावश्यक सवारी साधन वाहेक अन्य सवारी साधन रोकेका थिए
।
देउनीय देखी चन्द्रगढी भैरब चोकसम्म ठेक्का
लागेपनि अलपत्र पारेर काम नगरेको भन्दै उनीहरु विरोधमा उत्रिएका छन् ।
भएन समयमा काम
ठेक्का लिएर काम सुरु भएको तीन वर्ष पूरा हुँदासमेत सम्झौताअनुसारको निर्माण कार्य पूरा भएको पाइँदैन । ठेकेदार, सडक डिभिजन र मुख्य गरी नेपाल सरकारका कारण सो सडक प्रयोग कर्ताले दुःख पाइरहेको पुष्टि हुन्छ । सम्झौताअनुसार काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीबाट ठेक्का तोडाउन नसक्नु र सरकारले कम्पनीलाई भुक्तानी नगर्दा समस्या बढेको पाइन्छ । नेपालमा यस प्रकारका बेथिति उल्लेख्यरूपमा रहेका छन् । यस्तै बेथितिको एउटा प्रमुख उदाहरण बिर्तामोड –भद्रपुर सडक हो ।
३८ प्रतिशत मात्रै काम
अहिलेसम्म करिब ३८ प्रतिशत मात्र काम सम्पन्न भएको सडक डिभिजन कार्यालय दमकका प्रमुख सुरेश पौडेलले बताए । उनले धौला पुलदेखि देउनियाँसम्मको करिब ५ किलोमिटर सडक जसरी पनि निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिइएको जानकारी दिए । बल्लतल्ल धौला पुलदेखि देउनियाँसम्म सडक बने पनि देउनियाँदेखि पूर्वपट्टिको सडक– खण्ड यस वर्ष निर्माण नहुने भएको छ । बजेट अभावका कारण यस वर्ष देउनियाँदेखि चन्द्रगढीसम्मको सडक–खण्ड निर्माण नहुने डिभिजन इन्जिनियर पौडेलले बताए । हाल सव–बेसको काम धमाधम भइरहेको उनले बताए । सरकारबाट चालु आर्थिक वर्षमा ५ करोड मात्र बजेट विनियोजन भएकोले सो रकमले जति भ्याउँछ, त्यतिमात्र काम हुने उनको भनाइ छ । ठेकेदारले काम गरे पनि बजेट विनियोजन भएन भने समस्या हुने भएकोले काम अघि वढाउनू भन्न पनि ठेकेदारलाई नसकिएको उनको भनाइ छ । देउनियाँदेखि चन्द्रगढीसम्मको सडकलाई निरन्तरता दिन बजेट विनियोजनका लागि पहल गरिरहेको उनले बताए ।
जिम्मेवारी लिएका ठेकेदारले समयमै काम पूरा नगर्दा यात्रुहरूले सास्ती बेहोरिरहेका छन् । सम्झौताअनुसार निर्माणको काम नगरेको भन्दै निर्माण कम्पनी कन्टेक प्रा.लि.लाई सडक डिभिजन दमकले पटक–पटक स्पष्टीकरण सोधेको थियो । ठेकेदार कम्पनीलाई सडक डिभिजन दमकले काम ढिलाइ हुनुको कारणसहित पन्ध्र दिने लिखित स्पष्टीकरण माग गरेर पहिलो चरणको कारबाही गरेको थियो ।
आउँदो फागुन ५ गतेसम्म मात्रै म्याद
थपिएको म्यादभित्र समेत ठेकेदारले बिर्तामोड–भद्रपुर सडकको निर्माण कार्य सम्पन्न गर्न नसक्ने देखिएको छ । सो सडकका लागि फागुन ५ गतेसम्म दोस्रो पटक म्याद थप गरिएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । सडक निर्माणको ठेक्का पाएको काठमाडौँको कन्टेक प्रा.लि.ले निर्माण सम्पन्न गर्नुपर्ने म्याद गत साउन ५ सम्म रहेको थियो । २०७७ माघ ६ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले गत साउन ५ अर्थात् ३० महिनामा काम सम्पन्न गर्नुपर्ने सम्झौता रहेको थियो । त्यस अवधिभित्र करिब ३० प्रतिशत मात्र काम सम्पन्न भएको थियो । त्यसपछि सडक डिभिजन कार्यालय दमकले आगामी फागुन ५ गतेसम्म म्याद थप गरेको छ । बिर्तामोड–भद्रपुर सडकअन्तर्गत गरामनी–भद्रपुर खण्डको ८ दशमलव ७ सय किलोमिटर सडक भ्याटसहित ५८ करोड २ लाख २८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको सडक डिभिजन दमकले जनाएको छ ।