झापा / नेपाली सेनाले झापामा विद्यालयस्तरीय राष्ट्रिय सेवा दल (एनसीसी) जुनियर डिभिजन तालिम सुरु गरेको छ ।
चारआलीस्थित नेपाली सेनाको अरिदमन गणले जिल्लाका सामुदायिक र संस्थागत गरी ७ वटा विद्यालयमा उक्त तालिम सञ्चालन गरेको हो ।
अरिदमन गणका गणपति प्रमुख सेनानी प्राजु बस्न्यात र सेनानी सुरेन्द्र योगीले हिजो इष्ट होराइजन इङ्गलिस स्कुल धुलावारी, एरा एभरग्रिन इङ्गलिस स्कुल बुद्धशान्ति, धुलावारी माध्यमिक विद्यालय धुलाबारी, टावर टेम्पल इङ्गलिस स्कुल बिर्तामोड, शनिश्चरे मा.वि. शनिश्चरेमा तालिम उद्घाटन गरेका थिए भने आज झिलझिलेस्थित सेभेन सिज पब्लिक इङ्गलिस स्कुल र दमकस्थित झापा मोडल इङ्गलिस स्कुलमा सि.सं. ५१ जुनियर डिभिजन एनसीसी तालिम उद्घाटन भएको छ ।
उद्घाटन भएका विद्यालयमा हिजोदेखि तालिम सुरु भएको नेपाली सेनाको चारआलीस्थित अरिदमन गणका सेनानी नरेन्द्रप्रसाद खतिवडाले जानकारी दिए । एक सय दिनको एनसीसी तालिमअन्तर्गत ७९ दिन विद्यालयमै सञ्चालन हुनेछ भने बाँकी २१ दिनको तालिम ‘क्लोज क्याम्प’का रूपमा मोरङको याङशिलास्थित राष्ट्रिय सेवा दलको पूर्वी तालिम शिक्षालयमा हुने अरिदमन गणका गणपति प्रमुख सेनानी बस्न्यातले बताए ।
सो तालिमबाट विद्यार्थीहरु राष्ट्रप्रेम, नेतृत्व विकास, अनुशासन, जवाफदेहिता, इमान्दारिता र वफादारिताका बारेमा प्रशिक्षित हुने उनले बताए । “यसका अलावा सैन्यलगायत मानवीय र सामाजिक सेवाका बारेमा विद्यार्थीलाई तालिम दिइन्छ”, उनले भने । उनका अनुसार विपद् व्यवस्थापन, सरसफाइ तथा वातावरण लगायतका विषयमा समेत जानकारी गराइन्छ ।
झापामा यो वर्ष २ सय १० जना विद्यार्थीलाई यस्तो तालिममा सहभागी गराइने गणले जनाएको छ । एउटा विद्यालयबाट छात्र १५ र छात्रा १५ गरि ३० जना तालिममा सहभागी हुन पाउने छन् । जुनियर डिभिजनमा कक्षा ८ देखि १० सम्मका विद्यार्थी सहभागी गराइने उनले जानकारी दिएका छन् ।
तालिमपश्चात् विद्यार्थीमा अनुशासन, वफादारिता तथा इमानदारिता, राष्ट्रिय एकताको भावना, नेतृत्व क्षमताको विकासका लागि थप सहज हुने जनाइएको छ । यस्तै विद्यार्थीले तालिमका अवसरमा एरोविक्स, तेक्वान्दो, आइकिदो, विपद् व्यवस्थापनमा उद्धार गर्न स्वयंसेवी भूमिका तथा अन्य साहसिक तालिम पाउनेछन् । तालिममा प्रथम भएको विद्यालयका विद्यार्थीलाई विभिन्न मुलुक पठाउने गरिएको छ ।