झापा / बालेन्द्र शाह को हुन् त । लगभग ३ वर्ष अगाडि राजनितिमा आचानक देखा परेका अहिले नेपालको प्रधानमन्त्री भएका छन् । बालेनको जन्म वि.सं. २०४७ वैशाख १४ गते नरदेवी, काठमाडौँमा मधेशी साहु तेलीको परिवारमा भएको थियो र उनको न्वारनको नाम बालेन्द्र शाह हो। उनी आयुर्वेदिक चिकित्सक डा. रामनारायण शाह र उनकी दोस्रो पत्नी ध्रुवदेवी शाहका कान्छा छोरा हुन्। बालेनको पुख्र्यौली घर महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा पर्दछ भने मामाघर धनुषा जिल्लाको जमुनिवास– ४ मा पर्दछ। शाहका हजुरबुवा मुनिलाल शाह एक जमिन्दार थिए। उनको परिवार अहिले त्रिभुवन विमानस्थल नजिकै रहेको तीनकुनेको गैरीगाउँमा बस्छन्।
उनले ह्वाइट हाउस इन्स्टिच्युट अफ
टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटकमा स्थित विश्वेश्वरय्या प्राविधिक विश्वविद्यालयबाट स्ट्रक्चरल
इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन्। उनी आफ्नो पेशाको क्रममा देशका ६५ वटा
जिल्ला भ्रमण गरेको एक कार्यक्रममा बताएका थिए। २०७२
सालको महाभूकम्पपछि उनले उद्धार र राहतको काममा
सक्रिय भएर समाजसेवीको रूपमा नक्सा बनाउने कार्य गरेका थिए। उनले
सबिना काफ्लेसँग विवाह गरेका छन्। शाहकी श्रीमती पेसाले जनस्वास्थ्यकर्मी छिन्।
बालेन एक नेपाली राजनीतिज्ञ, स्ट्रक्चरल
इन्जिनियर र र्यापर हुन्। सानैदेखि बालेनको रुचि सङ्गीत र कवितामा थियो। उनले
आफ्नो पहिलो गीत "सडक बालक" वि.सं. २०६९ मा गाएका थिए र यो गीत उनले
कक्षा ९ मा हुँदा लेखेका थिए।
उनी प्रतिनिधि
सभा निर्वाचन, २०८२ मा राष्ट्रिय
स्वतन्त्र पार्टीको विजयपछि देशको कार्यकारी प्रमुख प्रधानमन्त्री बनेका छन् । आफ्नो मन्त्रिमण्डल गठनसँगै उनी
नेपालको पहिलो मधेशी मूलको प्रधानमन्त्री बन्न सफल भएका छन्। उनले
यसअघि २०७९ देखि २०८२ सम्म काठमाडौँ महानगरपालिकाको १५ औँ नगर
प्रमुखका रूपमा सेवा गरेका थिए, जुन पद सम्हाल्ने उनी पहिलो स्वतन्त्र उम्मेदवार थिए।
स्थानीय
तह निर्वाचन, २०७९ मा शाह काठमाडौँको नगर प्रमुखमा निर्वाचित भएका थिए। आफ्नो
कार्यकालमा उनले फोहोर व्यवस्थापन र ट्राफिक व्यवस्थापनमा विभिन्न पहलहरू सुरु
गरेका थिए। अनधिकृत संरचनाहरू भत्काउने, सुकुम्बासी
बस्ती व्यवस्थापन र फुटपाथ व्यवसायीहरू विरुद्धको कारबाहीका कारण उनको प्रशासनले
आलोचना र विवादको पनि सामना गर्नु परेको थियो। मेयरको रूपमा आफ्नो कार्यकालमा
शाहले विशाल नेपालको अवधारणालाई पनि प्रवद्र्धन गरेका थिए। शाह जेनजी आन्दोलनको समयमा एक प्रमुख राजनीतिक व्यक्तित्वका रूपमा
उदाएका थिए। २०८२ माघमा उनले काठमाडौँको मेयर पदबाट राजीनामा दिँदै राष्ट्रिय
स्वतन्त्र पार्टीमा प्रवेश गरी प्रतिनिधि सभा
निर्वाचन, २०८२ पार्टीको प्रधानमन्त्री
उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका थिए। उनले झापा ५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झण्डै
५० हजार मतान्तरले पराजित गर्दै आफ्नो पार्टीलाई
ऐतिहासिक बहुमत दिलाउन सफल भएका थिए।
बालेन्द्र शाह (बालेन शाह) २०७९ सालको स्थानीय तह निर्वाचन २०७९ बाट काठमाडौं
महानगरपालिकाका मेयरको रुपमा उदाएका नयाँ पुस्ताका प्रतिनिधि हुन्। स्वतन्त्र
उम्मेदवारका रूपमा उनले परम्परागत राजनीतिक दलका शक्तिशाली प्रतिस्पर्धीलाई पराजित
गर्दै प्राप्त गरेको जितलाई नेपाली राजनीतिमा ठूलो परिवर्तनको संकेतका रूपमा
लिइएको छ। उनको उदयले विशेषगरी युवापुस्तामा नयाँ आशा जगाएको छ भने पुरानो
राजनीतिक संस्कारप्रति असन्तुष्टि पनि उजागर गरेको छ।
र्याप र इन्जिनियरिङसँगै उनले नेपालको राजनीतिमा पनि रुचि
राखेका थिए । विवेकशील र साझा पार्टी छुट्टिएको बेला उनी
विवेकशील पार्टीसम्म पुगेर काठमाडौँको नगर प्रमुखको उम्मेदवारको रूपमा विवेकशीलबाट
उठ्न चाहेका थिए । शाह सुरुमा विवेकशील पार्टीप्रति आकर्षित थिए । उनी
त्यतिबेला गायकका रूपमा मात्र चिनिन्थे र विवेकशील पार्टीले उनलाई पार्टीमा आउन
आग्रह गरेको थियो तर शाहले विवेकशीलको सदस्यता लिएनन्। उनले स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव लड्ने तयारीमा लागेका
थिए।
शाहले स्थानीय तह निर्वाचन, २०७४ मा मतदान गरेनन् र उनले वि.सं. २०७४ वैशाख ३१ गते आफ्नो फेसबुकमा "मैले आज भोट
गरिनँ। म उम्मेदवार थिइनँ। मैले सिभिल इन्जिनियरिङमा स्नातक गरेँ, म स्ट्रक्चरल इन्जिनियरिङको मास्टर्सको आधा बाटोमा छुँ। मलाई देश बनाउन आउँछ।
म अर्को पटक भोट गर्छु, र आफैँलाई भोट दिन्छु। म मेरो देशको विकास गर्छु। मलाई अरू
कसैको भर लाग्दैन्"। भनी लेखेका थिए । उनले वि.सं. २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचन, २०७९मा काठमाडौँ महानगरपालिकाको
मेयरको पदमा चुनाव लड्ने घोषणा गरेका थिए। शाह आफुले ९० हजार ८३५ मत ल्याएर चुनाव जित्ने दावी गरेका थिए।
काठमाडौँ महानगरपालिकाको नगरप्रमुख
पदमा स्वतन्त्र उम्मेदवारीले उनलाई थप चर्चामा ल्याएको थियो। वैशाख ११ गते शाहले आधिकारिक रूपमा उम्मेदवारी दर्ता गरेका थिए र उनको
विपक्षमा एमालेबाट केशव स्थापित र काङ्ग्रेसबाट
सिर्जना सिंहले उम्मेदवारी दिएका थिए। उनलाई वैशाख १७
मा निर्वाचन आयोगले लौरो चुनाव चिह्न दिएको
थियो। वैशाख ३० गते सेतोपाटीले प्रकाशित गरेको मत सर्वेक्षणको अनुसार
बालेनलाई नगरप्रमुख पदमा ४२% जनताले मतदान दिएको बताएका थिए।
मेयरमा निर्वाचित भएपछि बालेन शाहले काठमाडौं शहरलाई व्यवस्थित
बनाउने उद्देश्यसहित आक्रामक शैलीमा काम अघि बढाएका छन्। उनले सडक र फुटपाथ
अतिक्रमण हटाउने अभियानलाई प्राथमिकता दिए, जसअन्तर्गत
सार्वजनिक स्थान ओगटेर बनाइएका अवैध संरचनाहरू हटाइए। यसले एकातर्फ शहरको सौन्दर्य
र यातायात व्यवस्थापनमा केही सुधार ल्याएको देखिए पनि अर्कोतर्फ कानुनी प्रक्रिया
र मानवीय पक्षबारे प्रश्नहरू पनि उठेका छन्। डोजर प्रयोग गरेर संरचना हटाउने
कार्यशैलीले उनलाई साहसी र निर्णायक नेता बनाएको छ भने कतिपयले यसलाई विवादास्पद
कदमका रूपमा पनि हेरेका छन्।
उनले शिक्षा क्षेत्रमा पनि सुधारको संकेत दिएका छन्। सामुदायिक
विद्यालयहरूको स्तर उकास्ने, भौतिक संरचना सुधार गर्ने
र व्यवस्थापनलाई व्यवस्थित बनाउने प्रयासले “सरकारी विद्यालय पनि गुणस्तरीय हुन
सक्छन्” भन्ने सन्देश दिन खोजिएको देखिन्छ। यद्यपि यी प्रयासहरूको दीर्घकालीन
प्रभाव मूल्यांकन हुन अझै समय लाग्नेछ। त्यसैगरी, काठमाडौंको
दीर्घकालीन समस्या रहेको फोहोर व्यवस्थापनमा पनि उनले सक्रियता देखाएका छन्। फोहोर
संकलनलाई नियमित बनाउने र व्यवस्थापन प्रणाली सुधार गर्ने प्रयास भए पनि समस्या
पूर्ण रूपमा समाधान हुन सकेको छैन र बेलाबेलामा संकट दोहोरिने गरेको छ।
बालेन शाहले डिजिटल प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई सहज
बनाउने र प्रशासनलाई पारदर्शी बनाउने प्रयास पनि गरेका छन्। यसले विशेषगरी युवा
पुस्तामाझ सकारात्मक प्रभाव पारेको छ। तर, उनका कामहरू
प्रायः तत्कालिक र एक्सनमुखी देखिने गरेका छन्, जसले
दीर्घकालीन योजनाको अभाव रहेको आलोचना निम्त्याएको छ। शहरको समग्र विकासका लागि
आवश्यक स्पष्ट मास्टर प्लान र दीर्घकालीन रणनीति अझै प्रभावकारी रूपमा कार्यान्वयन
हुन नसकेको टिप्पणी हुने गरेको छ।
उनको कार्यकाल विवादरहित भने छैन। संघीय सरकार तथा अन्य
निकायसँग समन्वयको अभाव देखिएको आरोप लाग्ने गरेको छ भने कतिपय निर्णयहरूमा टकराव
पनि देखा परेको छ। सामाजिक सञ्जालमार्फत प्रत्यक्ष अभिव्यक्ति दिने उनको शैलीले
उनलाई जनतासँग नजिक बनाएको छ, तर कहिलेकाहीँ भावनात्मक
वा आक्रामक अभिव्यक्तिका कारण आलोचना पनि खेप्नुपरेको छ। परम्परागत राजनीतिक
दलहरूसँग दूरी कायम राख्ने उनको रणनीतिले उनलाई स्वतन्त्र र फरक छवि दिएको छ, तर सहकार्यको कमीले काममा असर पर्ने चिन्ता पनि व्यक्त हुने गरेको छ।
समग्रमा बालेन्द्र शाह लाई साहसी, स्पष्टवक्ता र परिवर्तनको संकेतका रूपमा हेरिएको छ। उनले छोटो
समयमा जनतामा आशा जगाउन सफल भएका छन्, तर दीर्घकालीन
सफलता भने उनको योजना, समन्वय क्षमता र कार्यान्वयनको स्थायित्वमा निर्भर रहनेछ। यदि
उनले आफ्नो ऊर्जा र लोकप्रियतालाई व्यवस्थित नीतिगत ढाँचामा रूपान्तरण गर्न सके
भने भविष्यमा राष्ट्रिय राजनीतिमा अझ ठूलो भूमिका खेल्ने सम्भावना प्रबल देखिन्छ।