तस्करसंग साँठगाँठ गरेको आरोपमा गलगलियाका थानाध्यक्ष निलम्बित भएको एक सातापछि पाठामारीका थानाध्यक्षलाई पनि निलम्बन गरिएको छ ।
किशनगञ्जका प्रहरी अधीक्षक सन्तोष कुमारले पाठामारी प्रहरी चौकीका प्रमुख गंगाप्रसाद गुप्तासहित तीनजना प्रहरीलाई निलम्बन गरेका हुन् । पाठामारीका थानाध्यक्ष गुप्तामाथि चौपाया तस्करी, माफियासंग साँठगाँठ र अवैध असुली गरेको आरोप लागेको हो ।निलम्बित हुने अन्य प्रहरीहरुमा सुनिल कुमार र चालक सिपाही पवन कुमार रहेका छन् । एक साताअघि राति नेपालबाट चौपाया हालेर लगिएको ट्रकलाई पाठामारीका थानाध्यक्ष गुप्ताले छोडिदिएका थिए । भारतीय प्रहरीसंगको मिलेमतोमा नेपालका तस्करहरुले पाठामारी हुँदै पशु चौपाया भारत तस्करी गर्ने गरेका छन् ।
यसअघि भदौ अन्तिममा नेपालमा लागूऔषध सप्लाई गर्ने तस्करहरुसंग साँठगाँठ भएका गलगलिया थानाका थानाध्यक्ष निलम्बित भएका थिए । गलगलियाका प्रहरी उपनिरीक्षक राकेश कुमारलाई शंकास्पद आचरण, अनुशासनहीनता, कर्तव्य पालनामा लापरवाही, मनोमानी र वरिष्ठ अधिकारीहरूको आदेश उल्लङ्घनको आरोपमा निलम्बन गरिएको थियो ।