झापा । सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानी निवासी ५७ वर्षीय लोप्चनले जैविक र गड्यौला मल बिक्री गरेर मनग्य आम्दानी गरिरहेका छन् ।
चौध वर्षदेखि घरमै सञ्चालन गरेको फर्मबाट उत्पादन गरेको जैविक र गड्यौला मल बेचेर विदेशको भन्दा धेरै आम्दानी गर्न सफल भएका छन् । मल प्याकिङ गरिरेका लोप्चनले किसानहरूको मागअनुसार मल दिन नसकेको बताउँछन् ।
जैविक मल बोट बिरुवाको लागि निकै उपयोगी मानिन्छ । यहाँ उत्पादन भएको मल
गाउँ घरमा गमलामा फूल रोप्नदेखि नर्सरीमा बिरुवा उत्पादन गर्न र
व्यावसायिक तरकारीखेती गर्ने किसानले बेर्ना निकाल्न प्रयोग गर्ने गर्दछन् ।
सुरुमा जैविक तथा गड्यौला मल बोटबिरुवाको लागि रासायनिक मलखादभन्दा राम्रो
हुन्छ भन्ने विश्वास दिलाउन निकै सास्ती भएको उनको भनाइ छ । अहिले
उहाँहरु आफैँ मल खोज्दै आएकाे उनी बताउँछन् । साना
बेर्ना तथा बोट बिरुवामा रासायनिक मलखाद प्रयोग गर्न नमिल्ने हुँदा जैविक
तथा गड्यौला मलको माग उच्च रहेको उनले बताए ।
गड्यौला मल कृषि बजारमा कालो हीरा (ब्ल्याक डाइमण्ड) को रुपमा बिक्री वितरण हुने गरेको छ । लोप्चनले २०६९ सालतिर कृषि ज्ञान केन्द्रले दिएको जैविक तथा गड्यौला मल उत्पादनसम्बन्धी सात दिनको तालिम लिएका थिए । तालिम लिएर आएपछि उत्पादन सुरु गरेका उनले बताए । गाउँमा तरकारीखेती गर्ने किसानले भारतबाट बिरुवामा हाल्ने मन ल्याउने चलन रहेकाे उनले सुनाए ।
तरकारीमा आलु, प्याज, काउली, टमाटरखेतीको लागि सर्लाहीको लालबन्दी निकै चर्चित ठाउँ हो ।
लोप्चन गाई फर्म तथा भार्मिङ कम्पोस्ट दर्ता गरी सञ्चालन गरिरहेका छन् । सोही फर्मको नाममा बोरामा २५ किलोको दरले प्याक गरेको जैविक तथा गड्यौला मल काठमाडौँ, ललितपुर, भक्तपुर, धनुषा, महोत्तरी, रौतहट र सर्लाहीका एग्रोभेटहरूसम्म पुग्ने गरेको छ । जिल्लाका गमलामा फूल सजाउने बगैँचाको सौखिनदेखि व्यावसायिक तरकारी उत्पादन गर्ने किसान र अहिले अन्य अन्नबाली लगाउने किसान समेत यस मलप्रति आकर्षित भएका छन् ।