झापा । भिजिट भिसाको दुरुपयोग तथा मानव तस्करी सम्बन्धी उच्चस्तरीय छानबिन समिति गठनसहित गृहमन्त्रीको राजीनामा माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला समिति झापाले जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र बुझाएको छ ।
पार्टीका जिल्ला कार्यवाहक सभापति प्रकाश पाठकको नेतृत्वमा मङ्गलबार विभिन्न प्लेकार्ड सहित गएको र्यालीले ६ बुद्दे ज्ञापनपत्रसहित झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाई मार्फत नेपाल सरकारलाइ ज्ञापनपत्र बुझाएका हुन् ।
विगत केही वर्षहरुमा भीजिट भिसाको नाममा भएको मानव तस्करी र सङ्गठित अपराधमा सरकारी संयन्त्र , ट्राभल एजेन्सी ,म्यानपावर कम्पनी, एयरलाइन्स र नेपाली तथा विदेशी नियोगहरुको संलग्नताको आशङ्का भएको हुँदा यसको व्यापक र बहुआयामिक अनुसन्धान गर्न उच्चस्तरीय छानविन समिति गठन , छानविन समितिको कार्यक्षेत्र , संरचना व्यवस्थापन र अधिकार निर्धारण गर्न कार्यसम्पादन समिति गठन गरी सोही समितिबाट छानविन समिति गठन गर्नुपर्ने, छानविन प्रक्रियामा गृह मन्त्रालय मातहतका अध्यागमन विभाग, नेपाल प्रहरी र परराष्ट्र मन्त्रालय, नागरिक उडडयन प्राधिकरण र अन्य सरोकारवाला निकायहरुको प्रभावकारी समन्वय गर्दै छानविन पारदर्शी , तथ्यमा आधारित र समयसीमा भित्र सम्पन्न हुने सुनिशित कार्यहरु गरिनुपर्ने, नीतिगत एवं प्रणालीगत कमजोरीहरुको पहिचान र विश्लेषण (भिजिट भिसा, श्रम स्वीकृति अध्यागन ,मानव तस्करी र सङ्गठित अपराधसँग सम्बन्धित सरकारी कर्मचारी, ट्राभल एजेन्सी, म्यानपावर कम्पनी लगायत व्यक्ति तथा संस्थाहरुको भुमिकाको निश्पक्ष छानविन, अवैध सञ्जालमाथि अध्ययन, अनुसन्धान, पीडितको संरक्षण र पीडितमैत्री पुनस्र्थापनका लागि प्रशासनिक एवं न्याय प्रणालीबारे सुझाव ,अन्तर निकाय समन्वय र सहकार्यबारे सुधार सिफारिस, अनुसन्धान प्रक्रिया र अध्ययन प्रतिवेदन सार्वजनिक गर्दा पारदर्शिताको उच्च मापदण्ड , छानविन तथ्यमा आधारित र समयसीमाभित्र सम्पन्न गरी दोषीलाई कानुनबमोजिम हदैसम्म कारबाही गरी पीडितलाई संरक्षण र राहतको व्यवस्था गरिनुपर्ने र मानव तस्करी जस्तो गम्भीर विषयमा राजनीतिक, प्रशासनिक ,जवाफदेहिता र कर्तव्यको अपेक्षासहित गृहमन्त्रीको राजिनामा समेत ज्ञापनपत्रमा उल्लेख छ ।
कार्यवाहक जिल्ला सभापति पाठकले बाचन गरेको पत्रलाइ पार्टीका केन्द्रीय सङ्गठन विभाग सदस्य ओमनाथ भण्डारीले बुझाएका थिए । पार्टीको निर्देशन अनुसार झापासहित देशभरीका जिल्ला र स्थानीय तहमा ज्ञापनपत्र बुझाइएको उनले बताए ।
प्राप्त पत्रलाइ सरकारमा पठाइने सहायक प्रमुख जिल्ला अधिकारी प्रसाईले प्रतिवद्धता जनाएका थिए ।