१९ दिनसम्म न सास भेटियो, न लास अन्ततः राजेन आचार्यको कुशको शव बनाएर परिवारले गरे अन्तिम संस्कार । आफ्नै आँखाले अन्तिम बिदाइ गर्नसमेत नपाएको परिवारको यो पीडा निक्कै हृदयविदारक छ ।
भदौ १० गते बिहान आएको बाढीपछि विहान ८ः३२ बजेबाट सम्पर्कविहिन बनेका विर्तामोड नगरपालिका– ३ विर्ताबजार, रंगशाला टोलका ५२ वर्षीय राजु भनिने राजेन आचार्यको परिवारले कुशको प्रतीकात्मक शव बनाएर आज अन्तिम संस्कार गरेका हुन् ।
भोटेकोशी बाढीमा १९ दिनसम्म सम्पर्कविहीन रहेका आचार्यको सास वा लास नभेटिएपछि परिवारले कुशको प्रतीकात्मक शव बनाएर अन्त्येष्टि गरेको उनका माइला दाजु दीपक आचार्यले जानकारी दिए । ७९ वर्षीय बाबु शान्तिराम आचार्य र ७५ वर्षीया आमा रोहिणीदेवी आचार्यका पाँच सन्तानमध्ये राजेन कान्छा छोरा थिए । राजेनका दुई दाजु र दुईजना दिदी छन् ।
तीन महिनाअघि देखि स्याफ्रुवेँसी लाङटाङ हाइड्रोपावर २० मेगावाटको कार्यालयमा कर्मचारीका रुपमा कार्यरत राजेनका परिवारमा अन्तिम संस्कारपछि पनि उनी जिउँदै फर्किने आशा बाँकी छ । अन्तिम संस्कार गरिसकेपछि पनि परिवारलाई उनी फर्केर आउने मनमा सानो आशा भने बाँकी नै छ । कतैबाट राजेश जिउँदै फर्किएर आउलान् कि? भन्ने प्रतिक्षामा आचार्य परिवार छ ।
अब राजेनकी २३ वर्षीया छोरी प्रज्ञालाई बाबु समेतको माया ममता र प्यार राजेनले ४८ वर्षीया श्रीमती तारा खतिवडा आचार्यको काँधमै सुम्पिदिएका छन् । छोरी प्रज्ञा स्नातक चौथो वर्षमा अध्ययनरत छिन् । राजेन घटना हुनु एक हप्ता अघिमात्र झापा आएका थिए । झापाबाट कार्यक्षेत्र फर्केको पाँच दिनमै रसुवागढी भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीमा उनी वेपत्ता बने ।
यत्रो दिनसम्म पनि सुरुङभित्र वा कहीँ कतै अफ्ठ्यारोमा परेर बसेको छ कि भन्ने जीवित आशामा थियो उनको परिवार । राज्यका संयन्त्रबाट पनि निरन्तर खोजि कार्य जारी रहेपनि कहीँबाट परिणाम सकारात्मक आउने संकेत नदेखिएपछि आचार्य परिवारले १९ औँ दिनमा परम्परा अनुसार विधिपूर्वक झापाको पवित्र माईनदीमा अन्त्येष्टि गरिएको राजेनका दाजु दीपकले जानकारी दिए ।
भारी मन बनाएर मलामीसँगै कुशको शव लिएर कन्काई माई खोलाको घाटमा छोराको अन्त्येष्टिका लागि पुगेका ७९ बाबु शान्तिराम आचार्यलाई सम्हालिन गाह्रो देखिएको थियो । अन्त्येष्टिका लागि राजेनकी बृद्धा आमा भने जान सकिनन् । बृद्ध आमा, श्रीमती छोरीलगायत परिवार र छरछिमेकीको वेदना पीडाले सवैलाई यतिखेर स्तब्ध बनाएको छ ।
शायद राजेनकी बृद्ध आमा श्रीमती, छोरी सम्हालिन गाह्रो हुन्छ होला भनेरै बाबु शान्तिरामले मन दह्रो बनाएर सम्हालिन बाध्य भए । कि सास,कि लास आउला भन्ने आशा थियो,व्यग्र प्रतिक्षामा थियो आचार्य परिवार । न लास न सास नदेखिएपछि कुशलाई छोरो सम्झी एउट विधि गरेर प्रकृया पुरा गरेर अन्त्येष्टि गर्न बाध्य भयो यो परिवार ।
यत्रो दिनसम्म छोरा जीवित रूपमा पाउने आशा थियो आचार्य परिवारमा । परम्पराअनुसार बेपत्ता व्यक्तिको प्रतिकात्मक शवका रूपमा कुशको शव बनाएर अन्तिम संस्कार गर्ने प्रचलन छ । श्रीमती तारा, छोरी प्रज्ञा र राजेनका ७९ वर्षीय बृद्ध पिता शान्तिराम आचार्यले आज आइतबारदेखि १३ दिनसम्म कोराभित्र बसी धर्मसंस्कृति अनुसार श्रीमान, बाबु र छोराको काम गर्ने छन् ।
बाढीमा झापा मेचीनगर ६ काँकरभिट्टाका दीपक खरेल अझै सम्पर्कविहीन छन् भने निरन्तर खोजी भइरहे पनि उनका आफन्त भेटिने आशामा छन् । भोटेकोशी बाढीमा सम्पर्कविहीन भएका दीपक आउने बाटो आफ्न्तहरुले हेरिरहेका छन् । दीपक सम्पर्कविहीन भएदेखि घरमा आमा, श्रीमती र दुई छोरीसहित उनका परिवार चिन्तामा छन् । उनका परिवार भने अझै पनि दीपक जीवितै फेला पर्ने आशामा बसेका छन् ।