झापा / लम्पी स्किन रोग विशेषगरी गाईहरूमा र कहिलेकाहीं भैंसीरूमा समेत देखिने पक्स भाइरस (विषाणु) समूहको लम्पी स्किन भाइरसले लाग्ने रोग हो।
विगतमा अफ्रिकी महादेशमा मात्रै सीमित यो रोग सन् २०१२ पश्चात् मध्य पूर्व, दक्षिण पूर्वी युरोप, रसिक काजकिस्तान लगायत बालकन्स कोष हुँदै सन् २०१९ जुलाइमा बंगलादेश र चीन तथा सन् २०१९ को अन्ततिर भारतमा समेत देखापरेकाे थियाे। नेपालमा वि.सं. २०७७ साल असार महिनाको अन्तिम सातातिर मोरङ जिल्लामा केही गाईमा लम्पी स्किन रोगसँग मिल्दो लक्षणहर देखा परेको सूचना प्राप्त भएको थियो। यो सूचना प्राप्त भए लगत्तै पशु सेवा विभागबाट आवश्यक नमूना संकलन तथा रोग अन्वेषणका लागि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, विराटनगरलाई निर्देशन गरिएको थियो। प्रयोगशालाबाट खटिएको प्राविधिक टोलीले रोगको प्रकोपको अन्वेषण गर्नुका साथै नमूना संकलन गरि परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा प्रेषण गरेकोमा. वि.सं. २०७७ साल श्रावण नहिनाको ११ गते उक्त प्रयोगशालाले रियल टाइम पि.सि.आर विधिबाट परीक्षण गर्दा लम्पी स्किन रोग नेपालमा पहिलो पटक पुष्टि भएको थियाे। विश्व पशु स्वास्थ्य संगठन (OIE) को सूचीकृत रोग भएको हुँदा पुष्टि भए लगत्तै नेपालले विश्व पशु-स्वास्थ्य संगठनलाई यो रोग देखा परेको सूचना दिए अनुसार विश्व पशु स्वास्थ्य संगठनले नेपालमा लम्पी स्किन रोग देखा परेको प्रमाणित भएको सूचना समेत प्रकाशित गरिसकेको छ।