मुख्य समाचार
मनसुनको बिदाइसँगै बाढीपहिरोको जोखिम घट्दै, सतर्कता भने आवश्यक | चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबारमा वृद्धि, आपूर्तिमा दबाब पर्दा मूल्य बढ्ने संकेत | लक्ष्मी राजवंशी हत्या प्रकरणः सन्जु तामाङविरुद्ध अभियोग दर्ता, दुई रिहा | बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम |
मुख्य समाचार
मनसुनको बिदाइसँगै बाढीपहिरोको जोखिम घट्दै, सतर्कता भने आवश्यक | चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबारमा वृद्धि, आपूर्तिमा दबाब पर्दा मूल्य बढ्ने संकेत | लक्ष्मी राजवंशी हत्या प्रकरणः सन्जु तामाङविरुद्ध अभियोग दर्ता, दुई रिहा | बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम |


चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबारमा वृद्धि, आपूर्तिमा दबाब पर्दा मूल्य बढ्ने संकेत

भेषराज नेपाल 160+ समाचार ( )
१६ अशोज २०८३, शुक्रबार

झापा / नेपालीको प्रमुख चाड बडादसैँ नजिकिएसँगै देशभर खसीबोकाको व्यापार बढ्न थालेको छ। दसैँमा मासुको खपत बढ्ने भएकाले किसान, व्यापारी तथा पशुपालकहरू खसीबोकाको खरिदबिक्रीमा सक्रिय भएका छन्। तर यस वर्ष स्वदेशी उत्पादन अपेक्षाकृत कम हुनु, ढुवानीमा समस्या र बजारमा माग बढ्नुले खसीबोकाको मूल्यमा थप दबाब पर्ने देखिएको छ।

देशका प्रमुख पशु बजारदेखि स्थानीय हाटबजारसम्म खसीबोकाको कारोबार बढ्दै गएको छ। कोशी प्रदेशका पहाडी जिल्लाबाट तराई तथा राजधानीका बजारमा खसीबोका पुर्‍याउने क्रम तीव्र बनेको छ। विशेषगरी धनकुटा, पाँचथर, भोजपुरलगायत जिल्लामा उत्पादित खसीबोका ठूला सहरका बजारसम्म पुग्न थालेका छन्।

सुनसरीको धरानस्थित कृषि उपज बजारमा समेत चाडपर्व लक्षित कारोबार बढेको छ। बजार व्यवस्थापन समितिका अनुसार सामान्य अवस्थामा सातामा तीन हजारभन्दा बढी खसीबोका बिक्री हुने गरेकोमा दसैँ र तिहारको समयमा यो संख्या बढेर सातामा १० हजारभन्दा बढी पुग्ने गरेको छ। यस वर्ष अघिल्ला वर्षको तुलनामा कारोबार करिब १५ प्रतिशतले वृद्धि भएको समितिले जनाएको छ।

आर्थिक वर्ष २०८२/८३ मा धरान कृषि उपज बजारबाट एक लाख ६० हजार खसीबोका बिक्री हुँदा करिब तीन अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो। गत वर्षको चाडपर्वमा मात्रै ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको बजार व्यवस्थापन समितिको तथ्यांक छ


काठमाडौँ उपत्यकामा यस वर्षको दसैँमा करिब ३५ हजारदेखि ४० हजारसम्म खसीबोका तथा च्याङ्ग्राको माग हुने अनुमान गरिएको छ। कलंकीस्थित चौपाया खरिद–बिक्री केन्द्रका अध्यक्ष जीवनराज खतिवडाका अनुसार यस वर्ष उत्पादन कम भएकाले बजारमा मागअनुसार खसीबोका भित्रिन सकेका छैनन्।

कलंकी बजारमा अहिले दैनिक चारदेखि पाँच सय खसीबोका आउने गरेका छन्। जिउँदो खसीको मूल्य प्रतिकिलो ८५० रुपैयाँसम्म पुगेको व्यवसायीले बताएका छन्। गत वर्ष दसैँको समयमा यही मूल्य प्रतिकिलो ७५० रुपैयाँ हाराहारीमा थियो। यसले चाडपर्व सुरु हुनुअघि नै जिउँदो खसीको मूल्य प्रतिकिलो १०० रुपैयाँसम्म बढेको देखाउँछ।

व्यवसायीका अनुसार भारतमा समेत खसीबोकाको मूल्य बढेको छ। त्यसको प्रभाव नेपाली बजारमा परेको छ। ग्रामीण क्षेत्रबाट सहरसम्म पशु ढुवानी गर्दा लाग्ने खर्च र सडक अवरोधले पनि मूल्य वृद्धि हुने सम्भावना रहेको उनीहरूको भनाइ छ।

गाउँका हाटबजारमा समेत अभाव

दसैँका लागि ठूला सहरका व्यापारी गाउँगाउँ पुगेर खसीबोका खरिद गर्न थालेपछि केही स्थानीय बजारमा अभाव देखिन थालेको छ।

ओखलढुंगाका स्थानीय हाटबजारमा समेत खसीबोकाको उपलब्धता घटेको छ। व्यापारीले किसानबाटै खसीबोका खरिद गरी काठमाडौँ पठाउन थालेपछि सदरमुकामका साप्ताहिक हाटबजारमा कारोबार प्रभावित भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

त्यहाँ जिउँदो खसीको मूल्य प्रतिकिलो ७०० रुपैयाँसम्म पुगेको छ भने खसीको मासु प्रतिकिलो १२०० रुपैयाँसम्म पुगेको उपभोक्ताले बताएका छन्। व्यापारीले गाउँमै पुगेर खरिद गर्दा किसानले तुलनात्मक रूपमा बढी मूल्य पाउन थाले पनि स्थानीय उपभोक्तालाई भने खरिदमा आर्थिक भार थपिएको छ।

यसपालि सरकारी कम्पनीले खसीबोका नबेच्ने

दसैँमा बजार मूल्य नियन्त्रण तथा आपूर्ति व्यवस्थापनमा सहयोग पुर्‍याउँदै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष खसीबोका र च्याङ्ग्रा बिक्री नगर्ने भएको छ।

कम्पनीका अनुसार लगातारको घाटा तथा सडक अवरोधका कारण पशु ढुवानीमा जोखिम देखिएकाले यस वर्षको कार्यक्रमबाट खसीबोका खरिदबिक्री हटाइएको हो। यसअघि सरकारी कम्पनीले दसैँमा खसीबोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको थियो।

सरकारी कम्पनी बजारमा नआउँदा निजी क्षेत्र र स्थानीय व्यापारीमार्फत नै आपूर्ति व्यवस्थापन हुने देखिएको छ। मागअनुसार आपूर्ति हुन नसके मूल्यमा थप दबाब पर्न सक्ने व्यवसायीहरूको भनाइ छ।

किसानलाई आम्दानी, उपभोक्तालाई महँगीको चिन्ता

दसैँका लागि खसीबोकाको माग बढ्नु पशुपालनमा संलग्न किसानका लागि आम्दानीको अवसर बनेको छ। वर्षभरि पालनपोषण गरेका खसीबोका चाडपर्वको समयमा बिक्री गर्दा किसानले घरखर्च, बालबालिकाको शिक्षा तथा कृषि सामग्री खरिदका लागि रकम जुटाउन सक्ने अवस्था रहन्छ।

तर किसानले पाउने मूल्य र उपभोक्ताले खरिद गर्ने मूल्यबीचको अन्तर, ढुवानी खर्च तथा बिचौलियाको भूमिकाले बजार मूल्यमा प्रभाव पार्ने गरेको छ।

यसैबीच, उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै बजारमा बिक्री हुने पशुको स्वास्थ्य परीक्षण, स्वच्छ वधस्थल तथा मासुको गुणस्तरमा समेत सम्बन्धित निकायले ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।

दसैँ नजिकिँदै गर्दा खसीबोकाको कारोबार थप बढ्ने निश्चित भए पनि यस वर्षको उत्पादन, ढुवानी अवस्था र आपूर्तिले अन्तिम बजार मूल्य कस्तो निर्धारण गर्छ भन्ने विषय चासोको केन्द्र बनेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार