झापा । कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने ११ नेपाली श्रमिकमध्ये एकजना झापाका रहेका छन् ।
झापा कचनकवल ७ का जात्रु राजवंशीका छोरा २९ वर्षीय रमेश राजवंशीको पनि
विषाक्त मदिरा सेवनबाट मृत्यु भएको हो । निलकमल ह्युमन रिसोर्स प्रालिबाट
उनी तीन वर्षअघि कुवेत गएका थिए । इन्टरनेशनल फर जनरल ट्रेडिङ एण्ड
कन्ट्रयाक्टिङ कम्पनीमा उनी क्लिनरको काम गर्थे । कचनकवलका रमेश राजवंशीको
पनि विषाक्त मदिरा सेवनबाट मृत्यु भएको खबर आएको छिमेकी मोहन खनालले
जानकारी दिए । कुवेतस्थित नेपाली दूतावासका अनुसार पछिल्ला चार दिनमा ११
नेपाली श्रमिकको ज्यान गएको हो भने बिरामी अवस्थाका ४० जनाको विभिन्न
अस्पतालमा उपचार भइरहेको छ । कुवेतको साल्मिया क्षेत्रमा रहेका नेपाली र
भारतीयलगायत विभिन्न मुलुकका नागरिकले त्यस्तो मदिरा सेवन गरेको पाइएको छ ।
कुवेतको स्वास्थ्य मन्त्रालयले २३ विदेशी श्रमिकको मदिरा सेवनका कारण
मृत्यु भएको जनाएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार मिथानोलयुक्त
मदिरा सेवनका कारण १ सय ६० श्रमिक बिरामी परेका छन् । मिथानोल उद्योगमा
प्रयोग हुने रसायन भए पनि मदिरामा त्यसको प्रयोग गरेको पाइएको हो ।
पीडित सबै एसियाली मुलुकका श्रमिक छन् । अघिल्लो शनिबारबाटै एकपछि अर्को
श्रमिक बिरामी पर्न थालेका थिए । अस्पतालमा भर्ना हुनेको संख्या बढ्न
थालेपछि कुवेतको लागूऔषध नियन्त्रण केन्द्र र सुरक्षा एजेन्सीसहितका निकाय
सक्रिय भएका थिए । कुवेती स्वास्थ्य मन्त्रालयको विज्ञप्तिमा ३१ जना
बिरामीको भेन्टिलेटरमा उपचार भइरहेको उल्लेख छ । त्यस्तै ५१ जनालाई
आपत्कालीन मिर्गौला डायलसिस जारी रहेको भनिएको छ ।
कतिपय आकस्मिक रूपमै अन्धोपनको सिकार पनि भएको जानकारी गराइएको छ । धेरै बिरामीलाई सघन उपचार कक्षमा राखेर चिकित्सकको २४ घण्टे निगरानीमा राखिएको छ । विषाक्त मदिरा कहाँबाट आयो, त्यसको कुवेत सरकारले अनुसन्धान गरिरहेको छ ।