झापा / कुवेतमा ज्यान गुमाएका मध्ये ९ जना नेपाली श्रमिकको शव अन्ततः नेपाल ल्याइएको छ। खाडी क्षेत्रमा देखिएको युद्धजन्य तनावका कारण लामो समयदेखि रोकिएको शव फिर्ता प्रक्रिया अहिले सम्पन्न भएको हो।
शवहरू कुवेत एयरवेजको चार्टर विमानमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो। उनीहरुको शवलाई विमानस्थलदेखि घरसम्म लैजाने प्रबन्ध गरिएको बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीले बताए । युद्धका कारण उडान अनियमितता र सुरक्षा जोखिम बढ्दा यसअघि शव नेपाल पठाउन समस्या भइरहेको थियो।
वैदेशिक रोजगार बोर्डका अनुसार नेपाल ल्याइएका मृतकहरूमा सिराहाका रमेशकुमार मोची, दाङका खुसीराम चौधरी, सिन्धुपाल्चोककी सम्झना गोले, उदयपुरकी कोपिला धामी, खोटाङका वसन्त राई, सुर्खेतकी यमुना सुनार, सल्यानका कृष्णराम्जा बुढा, सिन्धुलीकी मञ्जु मोक्तन पाख्रिन र कास्कीका रमेश नेपाली रहेका छन्।
सम्बन्धित निकायका अनुसार आवश्यक कानुनी प्रक्रिया, दूतावासको समन्वय तथा रोजगारदाता कम्पनीसँगको सहकार्यपछि शव नेपाल पठाइएको हो। शव बुझ्ने परिवारलाई आवश्यक सहजीकरण तथा क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया समेत अघि बढाइएको जनाइएको छ।
खाडी क्षेत्रमा जारी द्वन्द्वका कारण वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको सुरक्षाबारे पुनः चिन्ता बढेको छ। यस्तो अवस्थाले आपतकालीन उद्धार, शव फिर्ता र श्रमिक व्यवस्थापनमा थप चुनौती उत्पन्न गरेको सरोकारवालाहरूले बताएका छन्।
शव नेपाल ल्याएसँगै सम्बन्धित परिवारलाई जिम्मा लगाउने तथा अन्त्येष्टि प्रक्रिया स्थानीय तहको समन्वयमा अघि बढाइने जनाइएको छ।
गत १६ फागुनमा अमेरिका–इजरायलले इरानमा आक्रमण गरेको थियो । प्रतिकारस्वरुप इरानले पनि अमेरिकी सैन्य क्याम्प भएको कुवेत, बहराइन, साउदी अरब, कतार र ओमान श्रृंखलाबद्ध आक्रमण जारी गरेपछि कुवेतको विमानस्थलमा सञ्चालनमा थिएन ।