झापा । ठेकेदारका कर्मचारीले सादा कागजमा कर काटेर ठगी गरेको टयाक्टर व्यवसायीले आरोप लगाएका छन् । भद्रपुर र हल्दीबारीको सिमानामा रहेको देउनिया खोलाबाट कर तिरेर नदीजन्य पदार्थ लैजादा ठेकेदारका कर्मचारीले सादा कागजमा लेखेर कर असूल गरेको व्यवसायी जानुका डाँगीको आरोप छ । ट्याक्टर नम्बर मे १ त ५०९०, मे १ त ८१०९ लगायतलाइ सादा कागजमा बिल काटेर पछिल्लो समय कर वापत १ लाख ५ हजार रुपैयाँ ठगी गरेको उनले बताइन् ।
कुमार कार्की, निलम राइ, राम कुमार गिरी, तारा प्रकाश डाँगी लगायतले नदीजन्य पदार्थ भण्डारण गरेका छन् ।
खोला कर तिरेर घाटगद्दी गरिएको नदीजन्य पदार्थ गाउँपालिकाले लिलाम बिक्रीको सुचना प्रकाशित गरेपछि अहिले उनीहरु कानुनी प्रक्रियाका लागि विभिन्न निकायमा गएका छन् ।
व्यवसायीलाइ विना जानकारी गाउँपालिकाले माघ २५ गते पालिका भित्र रहेका विभिन्न स्थानमा अवैध रुपमा देउनिया नदी किनारमा भण्डारण गरी राखिएको नदीजन्य पदार्थ उठाउन लिलाम बिक्रीको सुचना प्रकाशित गरेपछि व्यवसायीले आपत्ती जनाउँदै आएका छन् ।
यसैगरी सादा बिल काटने ठेकेदारका कर्मचारी प्रेम सिलवालले ठेकेदारले भने बमाेिजम काम गरेकाे बताउँछन् । ठेकेदार मदन राना मगरले भनेपिछ सादा कागजमा लेखेर कर लिएकाे उनले स्वीकारे ।
पालिकाले व्यवसायीमाथि अन्याय गर्यो
पालिकाले नियम विपरीत काम गरेर व्यवसायीमाथि अन्याय गरेको व्यवसायी तारा प्रकाश डाँगीले आरोप लगाए । राज्यलाइ कर तिरेर वर्षौयता देखी भण्डारण गरेर बिक्री वितरण गर्दै आइरहेको अवस्थामा विना जानकारी लिलाम बिक्रीको सुचना प्रकाशित गर्नु व्यवसायीमाथि प्रतिसोध साधेको उनको भनाइ छ । यो विषयमा लिएर हुनसक्ने कुनैपनि घटना गाउँपालिकाले जिम्मा लिनु पर्ने समेत उनले बताए । यो विषयलाइ लिएर कानुनी प्रक्रिया अघि सारिएको उनको भनाइ छ ।
नदी किनारमा नै नीजी जमिन हुदाहुदै भण्डारण गर्न कहाँ लैजानु भन्दै अर्का व्यवसायी राम कुमार गिरी बताउँछन् । नरेश धमलाको नीजी जमिन उत्खनन गरेर थुपारेको नदीजन्य पदार्थ अहिले आएर अवैध भन्नु गाउँपालिकाको गल्ती भएको उनले बताए । गाउँपालिकालाइ पटक – पटक दिवेदनसहित जानकारी गराउँदा समेत वास्ता नगरेको उनले आरोप लगाए । जिल्ला समन्वय समितिको कात्तीक १७ गतेको वैठकले स्टक प्रमाणित लगायत सङ्कलन, उत्खनन र बिक्री वितरण गर्न पालिकालाइ पत्र पठाएपछि घाटगद्दी गरेका व्यवसायीले मङ्सिर १९ गते छलफलका लागि वाड नम्बर २ को कार्यालयमा निवेदन दिएपनि सुनुवाइ नभएको उनको भनाइ छ । विना जानकारी लिलाम बिक्रीको सूचना प्रकाशित फिर्ता लिएर बिक्री वितरणको वातावरण वनाउन उनले माग गरेका छन् ।
वैधानीक भए प्रमाण लिएर आउनू
अवैध रुपमा थुपारेको नदीजन्य पदार्थ स्थानीय सरकारले जफत गरेको गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले बताए । वैधानीक भए प्रमाण लिएर आउन सम्बन्धित पक्षलाइ उनले बताए । नदीजन्य पदार्थ चोरेर भण्डारण गर्न नपाइने उनको भनाइ छ । अनुगमनका क्रममा अवैध देखिएपछि प्रक्रिया अगाडी बढाइएको उनको भनाइ छ ।
पालिकाले माघ २५ गते देउनिया नदी किनारमा अवैध रुपमा घाटगद्दी गरी राखिएको ६ सय ७७ घनमीटरको लिलाम बिक्रीको सूचना प्रकाशित गरेको उल्लेख छ ।
प्रमाण पुगे मुद्दा दर्ता हुने
उजुरी आएपछि दुवैपक्ष राखेर छलफल गरिएको जिल्ला प्रहरी कार्यालय झापाका मुद्दा फाँटका इन्स्पेक्टर महेन्द्र पराजुलीले बताए । पहिलो चरणको छलफलपछि दुवै पक्षलाइ फिर्ता पठाइ अनुसन्धान शुरु गरिएको उनले वताए । अनुसन्धानका क्रममा प्रमाण पुगेमा मुद्दा दर्ता गराएर कारवाही अगाडि बढाइने उनले जानकारी दिए ।