झापा । थप सूचना दिने शर्तमा सामानसहित पक्राउ परेका भद्रपुरका एक युवकलाई वडा प्रहरी कार्यालय भद्रपुरले छाडिदिएको छ।
वडा प्रहरी कार्यालयबाट खटिएका सादा पोसाक प्रहरी टोलीले मंगलबार साँझ
अन्दाजी ७ बजेको समयमा नेपाल-भारत सीमा पिलर ९९ बाट भन्सार छलेर सामान
ओसार्ने भद्रपुर नगरपालिका-५ का एक्का भन्ने आकाश कामतीलाई पक्राउ पछि छाडिएकाे वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर सञ्जीव बोगटीले बताए ।
लाइन मेन कामतीको समूहले ५० हजार मूल्य बराबरको एसियन पेन्ट्सको १६
कार्टुन इनामेल, थ्रीनर र प्राइमर भन्सार छलेर भित्र्याउन लाग्दा प्रहरीले
सामानसहित कामतीलाई पक्राउ गरेको उनले बताए । कामतीलाई पक्रेर वडा प्रहरी
कार्यालय ल्याइएपनि अन्य दुई लाइन मेन सामान छाडेर भागेकाे उनले जनाए ।
मंगलबार राति नै जिल्ला प्रहरी कार्यालय झापाले सञ्चारकर्मीलाई पठाएको
प्रेस नोटमा मान्छे पक्राउ गरिएको भन्ने विवरण नखुलाएर ५० हजारको सामान मात्र उल्लेख गरेपछि घटना सतहमा आएकाे हाे ।
पक्राउ परेका मान्छेलाई आइन्दा यस्तो गल्ती नदोहोर्याउने सर्तमा हिजै
राति आफन्तजनलाई बोलाएर जिम्मा लगाइसकेको उनको भनाइ छ। मजदुरलाइ थुनेर समस्या समाधान नहुने भएर थप सूचना दिने शर्तमा छाडिएकाे उनकाे भनाइ छ ।
सामानसहित पक्राउ परेका कामती समूहका लाइनमेनहरुले भद्रपुर-५ स्थित ९९ पिलर आसपास दोभान नाकाबाट राई बस्ती हुँदै गणेश मन्दिर छेउबाट ठूला मात्रामा भन्सार छलेर सरसामान दिनहुँ जसो भित्र्याइरहेको छ। उनीहरूले व्यापारी र कारोबारीले दिएको अर्डरबमोजिम जस्तोसुकै सरसामान प्रहरीको आँखा छलेर होस वा सेटिङ मिलाएर होस् भित्र्याइरहेको स्थानीयकाे भनाइ छ ।