‘जेन–जी’ आन्दोलनका क्रममा कारागारबाट भागेर फरार रहेका जबर्जस्ती करणी मुद्दाका एक प्रतिवादीलाई प्रहरीले झापाको दमकबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धारा काठमाडौंको भद्र सेन्टरमा कैद भुक्तान गरिरहेका ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–२ दुईसाङ्गुका २७ वर्षीय राजकुमार लिम्बू आन्दोलनका क्रममा कारागारबाट भागेर फरार भएका थिए।
लिम्बूलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतको फैसलाअनुसार १८ वर्ष कैद, एक लाख रुपैयाँ क्षतिपूर्ति र २ हजार २ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने सजाय तोकिएको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ।
प्रहरीका अनुसार लिम्बू २०८२ साल भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा कारागारबाट भागेका थिए। फरार भएपछि उनी झापाको दमक नगरपालिका–६ मा लुकिछिपी बसिरहेको सूचना प्रहरीले प्राप्त गरेको थियो।
इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा खटिएको टोलीले २०८३ साल असोज ३ गते राति करिब ११ बजे उनलाई फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
पक्राउ परेका लिम्बूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरीले जनाएको छ।