इलामको रोङ गाउँपालिकामा भएको ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ ।
हिजो साँझ ७ः३० बजे रोङ गाउँपालिका–५ देवनथापस्थित भित्री सडक खण्डमा देवनथापबाट झापातर्फ आउँदै गरेको प्र.१–०४–००१ त १२३६ नम्बरको दाउरा बोकेको ट्रयाक्टर आफैं अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना भएको हो ।
दुर्घटनामा ट्रयाक्टर चालक झापा मेचीनगर नगरपालिका–५ नकलबन्दाका ४० वर्षीय अमित धिमालको मृत्यु भएको छ । ट्रयाक्टरको अगाडिको भागले थिचिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको खबर प्राप्त हुनासाथ इरौटार चौकी र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली पुगेर कानुनी प्रक्रिया पूरा गरी राति १ बजे मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।