झापा । काेशी प्रदेशका स्वास्थ्य मन्त्री राजेन्द्र कार्कीले स्वास्थ्य संस्थामा राजनीतिकरण हुन नदिने बताएका छन् । कोशी प्रदेश स्वास्थ्य मन्त्रलाय स्वास्थ्य निर्देशनालय धनकुटाको आयोजानामा शुक्रबार विराटनगरमा वास्थ्य सेवा प्रवर्द्धनका लागि सञ्चारकर्मी एवम् स्वास्थ्यकर्मीहरूबीच अन्तरक्रिया कार्यक्रमकाे अवसरमा मन्त्री कार्कीले यस्ताे बताएका हुन् ।
प्रमुख अतिथि समेत रहेका कार्कीले आफ्नो कार्यकाल अवधिभर राजनीतिकरणबाट मुक्त राख्न लागिपर्ने बताए । तीन तहको सरकारले आम नागरिकको स्वास्थ्य सेवामा पहुँच पुऱ्याउन लाग्नु पर्नेमा उनले जोड दिए ।प्रदेशका स्वास्थ्य संस्थामा देखिएको जनशक्ति अभावको व्यवस्थापन गर्ने उनकाे भनाई थियाे । दुर्गम क्षेत्रमा स्वास्थ्य पहुँच बढाउने उनले बताए। ऐन कानुन निर्माण गरी नयाँ ढंगका साथ आफू लागि पर्ने उनले बताए ।
प्रादेशिक अस्पताल भद्रपुरलाइ उत्कृष्ट बनाउने साथै प्रादेशिक आयूर्वेदिक अस्पताल केन्द्र झापा लखनपुरलाइ आयूर्वेद स्वास्थ्य प्रतिष्ठानकाे रूपमा विकास गर्ने जनाए । स्वास्थ्यमा देखिएका समस्यालाइ कार्यदल नै बनाएर सुधार गरिने उल्लेख गरे । उनले अस्पताल विकास समितिकाे अध्यक्षमा देखिएकाे अन्याैल चाडै टुङ्गाेमा पुग्ने जानकारी दिए ।
अन्तरक्रियामा स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञान बहादुर बस्नेतले स्वास्थ्य कार्यक्रम हरुको सुचक, प्रगति र चुनौति विषयमा प्रस्तुतिकरण गरेका थिए । त्यस्तै, सम्बाद समूह मोरङका सुमन सुस्केराले कोशी प्रदेशका स्वास्थ्य संस्थाकाे अवस्था, समस्या र राम्रा प्रयासका बारेमा प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा स्वास्थ्य सचिव डाक्टर राधिका थपलियाले स्वास्थ्य साक्षारता कम भएकाेले पनि प्रदेशमा भने जसरी सफलता हासिल हुन नसकेको बताइन् । सोको विषयमा विश्लेषण गर्न जरुरी रहेको उनकाे भनाइ थियाे ।
स्वास्थ्य क्षेत्रको प्रबर्दनमा सञ्चार क्षेत्रको भूमिका सराहनीय भएको उनले बताइन् । लक्ष्य प्राप्तिमा मन्त्रालय प्रतिबद्ध रहेको उनकाे भनाइ थियाे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष हेमा चेम्जोङ लगायतले सुझाव तथा जिज्ञासा राखेका थिए । स्वास्थ्य अधिकृत तुलसी प्रसाद गुराँगाइले कार्यक्रम सञ्चालन गरेका थिए ।