झापा / भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूको सम्मानमा सरकारले आज राष्ट्रिय शोक मनाउँदैछ। शोकका अवसरमा देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ।
बाढीमा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि सरकारले मृतकप्रति सम्मान र पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै राष्ट्रिय शोक घोषणा गरेको हो। आज सार्वजनिक कार्यक्रमहरूमा समेत शोकलाई प्राथमिकता दिइनेछ।
भोटेकोशी बाढीले रसुवा, सिन्धुपाल्चोकलगायतका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीमा परी धेरै नागरिकको मृत्यु भएको छ भने अझै केही व्यक्ति सम्पर्कविहीन रहेको बताइएको छ। बाढीले सडक, पुल, जलविद्युत् आयोजना, बस्ती तथा अन्य भौतिक संरचनामा समेत गम्भीर क्षति पुर्याएको छ।
सरकारले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्रता दिने जनाएको छ। साथै बेपत्ता नागरिकको खोजी र क्षतिको विवरण सङ्कलन गर्ने काम पनि जारी रहेको छ।
राष्ट्रिय शोकका क्रममा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै सरकारले विपद्को पीडामा रहेका परिवारसँग राज्य साथमा रहेको सन्देश दिएको छ।