झापा / सडक सञ्जाल विस्तारसँगै भोजपुरमा उत्पादन भएका खसीबोका काठमाडौंको बजारसम्म सहज रूपमा पुग्न थालेका छन्। यसले स्थानीय किसानलाई आफ्नो उत्पादन बिक्रीका लागि नयाँ बजार उपलब्ध गराउनुका साथै राजधानीका उपभोक्ताले भोजपुरका खसीबोका खरिद गर्ने अवसर बढाएको छ।
पहिले दुर्गम र कठिन भौगोलिक अवस्थाका कारण भोजपुरबाट अन्य जिल्लासम्म खसीबोका पुर्याउन समय र खर्च बढी लाग्ने गरेको थियो। सडक पहुँच विस्तार भएपछि भने ढुवानी सहज र तुलनात्मक रूपमा छिटो हुन थालेको व्यवसायीहरू बताउँछन्।
पहिले दसैँ–तिहारजस्ता ठूला चाडपर्वका बेला मात्र फाट्टफुट्ट खसीबोका बिक्री हुने गर्थे । किसानले खसीबोका बिक्री गर्न स्थानीय हाटबजारसम्म डोर्याएर लैजानुपर्ने झन्झटसँगै अपेक्षित मूल्य नपाउने समस्या पनि थियो । अहिले सडक सञ्जाल विस्तार भएपछि गाउँका खसीबोका काठमाडौं, धरान, इटहरी र विराटनगरजस्ता ठूला सहरसम्म पुग्न थालेका छन् ।
अहिले गाउँमै जिउँदो खसीबोका प्रतिकिलो रु ५०० देखि ६०० सम्ममा सहजै बिक्री भइरहेको छ । राम्रो मूल्य पाउन थालेपछि जिल्लामा बाख्रापालनप्रति किसानको आकर्षणसमेत बढेको छ ।
गाउँबाट खसीबोका सङ्कलन गरी काठमाडौं पठाउँदै आएका स्थानीय व्यापारी गणेश विष्टका अनुसार अहिले महिनामा करिब २०० वटा खसीबोका काठमाडौं पठाउने गरिएको छ । युवाहरू मिलेर गाउँबाट सङ्कलन गरिएका खसीबोका काठमाडौं ढुवानी गर्दा प्रतिगोटा रु ८०० देखि रु १ हजार ५०० सम्म भाडा लाग्ने गरेको उनले जानकारी दिए ।
भोजपुरमा व्यावसायिक रूपमा बाख्रापालन गर्ने किसानको संख्या बढ्दै जाँदा उत्पादन पनि विस्तार भइरहेको छ। स्थानीय उत्पादनले बजार पाउन थालेपछि किसानहरू पशुपालनतर्फ थप आकर्षित हुने अपेक्षा गरिएको छ।
घरआँगनबाटै खसीबोका बिक्री हुन थालेपछि किनबेचमा ठूलो सहजता आएको टेम्केमैयुङ–५, मझौलेका स्थानीय हर्कराज लुइँटेलले बताए । घरमै तराजुमा जोखेर बिक्री गरिने भएकाले ठगिने सम्भावना नरहेको उनको भनाइ छ । आफूलाई पैसाको आवश्यकता परेको अवस्थामा तत्कालै बिक्री गर्न सकिने भएकाले गर्जो टार्न समेत सहज भएको उनले बताए ।
“यातायातको सुविधाका कारण गाउँघरमा पालिएका खसीबोका अहिले काठमाडौंलगायत ठूला सहरसम्म जान थालेका छन्,” उनले भने, “विगतमा अन्दाजको भरमा बेच्नुपर्दा घाटा सहनुपथ्र्यो । अहिले व्यापारी आफैँ खोरसम्म खोज्दै आउँछन् । खोरबाटै राम्रो मूल्यमा बिक्री गर्न पाउँदा निकै सहज भएको छ ।”
अर्का स्थानीय किसान रमेश विष्टले पनि घरैबाट सोचेजस्तो मूल्यमा खसीबोका बिक्री हुन थालेपछि बाख्रापालनबाट मनग्य आम्दानी गर्न सकिने अवस्था बनेको बताए ।काठमाडौंमा माग बढेसँगै भोजपुरबाट नियमित रूपमा खसीबोका ल्याउने क्रम बढेको छ। यसबाट किसान, स्थानीय व्यापारी तथा ढुवानी व्यवसायी सबैलाई आर्थिक लाभ पुग्ने देखिएको छ।
सडक पूर्वाधारले दुर्गम क्षेत्रका कृषि तथा पशुजन्य उत्पादनलाई ठूला बजारसँग जोड्न थालेपछि स्थानीय उत्पादनको व्यावसायीकरणमा समेत टेवा पुगेको छ। भोजपुरका खसीबोका काठमाडौं पुग्नु त्यसैको एउटा उदाहरण बनेको छ।