झापा । झापाको भद्रपुर भन्सारमा ८० प्रतिशत कपडाबाट राजस्व उठाउँदै आएका कपडा व्यापारी पछिल्लो समय भन्सार छलेर कपडा नेपाल भित्र्र्याइ रहेका छन् । भद्रपुर भन्सार कार्यालयले जनाएअनुसार अहिले कपडा नआएको बताउँछन् । जेन्जी आन्दोलन भन्दा अघि कहिलेकँही आएपनि पछिल्लो समय ठप्प भएको कार्यालयका कर्मचारी डिल्लीप्रसाद आचार्य बताउँछन् । कपडाबाट ८० प्रतिशत राजस्व उठ्ने गरेको उनले बताए । भन्सारमा कपडा आउँदैन तर, बजारमा पर्याप्त छ उनले भने । भन्सार छलेर सामान नेपाल भित्रिएपछि मासिक रुपमा करोडौँ राजस्व उठाउने भद्रपुर भन्सार पछिल्लो समय सुनसान बनेको छ ।
जिल्लाको दक्षिणी क्षेत्र बाट व्यापक रुपमा दैनिक लाखौँ मूल्य बराबरको कपडा लगायतका सामान नेपाल भित्रिरहेको पाइएको छ । भद्रपुर ,वाँस झ्याङ् ,हिमाली, वनियानी , केचना,दले गाउँ ,घेराबारी ,खुट्टामुनी लगायतका नाकाबाट तस्करी हुदै आएको छ ।
व्यापारीले भारतको सिलिगुडीबाट कपडा खरिद गरी भन्सार छलेर दैनिक २० देखी ३० पोकासम्म वनियानीमा तीन हजार पाँचसय प्रति पोका ल्याउने गरेका छन् । त्यसरी ल्याएका कपडासँगै मोटर पार्टस लगायतका सामान कारोबारीले रातिको समयमा पिकअप गाडीबाट धरानका बजारसम्म पुर्याउने गरेको व्यापारीको भनाइ छ । धरानसम्म प्रतिपोका १० हजार रुपैयाँमा पुर्याउने गरेको एक व्यापारीले दावी गरेका छन् । व्यापारीसँग क–कस्को साँठगाँठबाट यो कार्य भइरहेको छ भन्ने प्रमाण सुरक्षित छ । पहिले दले गाउँबाट कपडा लगायतका सामग्री आउँथ्यो अहिले खोला बढेपछि खुट्टामुनी नाका चालु रहेको व्यापारी बताउँछन् ।
त्यसैगरी कारोबारीले नेपालबाट स्याउ, पप्पकर्न ,कबाफ चिल्ली ,मसला लगायतका सामान भारत पठाउने गरेका छन् । यो काम रातको ११ बजेबाट सुरु हुदै आएको छ । पछिल्लो समय सशस्त्र प्रहरीले भारत जान लागेको फर्सीको बियाँ र स्याउ बारामद गरेपनि कपडा भने बरामद गरेको छैन ।
भारतबाट घरायसी सामान ल्याउँदा ठाउँ – ठाउँमा चेक जाँच गर्ने प्रहरीले दैनिक २० देखी ३० पोका कपडा लगायतका सामान वारी पारी कसरी भयो ? एक व्यापारीले बताए । सीमामा २४ सै घण्टा बस्ने प्रहरीले उनीहरुलाइ संरक्षण गरेको व्यापारीको आरोप छ ।
नाकामा तस्करी नभएको सशस्त्र प्रहरी बल गण २ झापाका एसपी अम्बिका प्रसाद जोशी दावी गर्छन् । रातदिन प्रहरी परिचालन गरिरहेको उनको भनाइ छ । सामान फेला परेमा बरामद र कारबाही हुने उनले बताए । सामान बरामद पनि गर्दै आइरहेको उनको भनाइ छ ।
दुइवर्ष अघि गोदाममा छापा
गोदामबाट सशस्त्र प्रहरीले बिलविजक नभएको ४८ लाख मूल्य बराबरको लत्ताकपडा गत ८१ जेठ ७ गते छापा मारेको थियो ।
कचनकवल गाउँपालिका–६ बनियानीस्थित जमनाल मियाँको घरबाट दिउँसो करिब १ बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म घेराबारीका तत्कालिन डीएसपी प्रभातकुमार गौतम नेतृत्वको टोलीले भारतवाट अबैध रूपमा चोरी तस्करी गरी लुकाईछिपाई राखिएको भन्दै २३ पोका कपडा ४८ लाख १८ हजार ७०० मूल्य तोकेर सशस्त्रले सोही दिन वेवारिसे भन्दै मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाएको थियो ।
घर भाडा लिएर राखिएकाे सामान सशस्त्र प्रहरीले बिलबिजक भएपनि नियम मिचेर भन्सार बुझाएको र भन्सारले समेत आफ्नो क्षेत्राधिकार मिचेको भन्दै सञ्चालकले उच्च अदालत विराटनगर, इलाममा ०८१ जेठ २२ गते रिट निवेदन दर्ता गराएका थिए । अभियोग/प्रतिवेदन नं.२०८०/८१–०६५२ को मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा छ भने प्रहरीले वेवारिसे भनेर भन्सार बुझाएको कपडा जेन्जी आन्दोलनका क्रममा आगलागी भइ नष्ट भएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ ।
माथि उल्लेखित घटनाले पनि केचना तस्करीका लागि सजिलो नाका भएको पुष्टि गर्छ ।