झापाको मेचीनगरबाट अवैध रूपमा भारततर्फ लैजाँदै गरेको करिब ५ लाख रुपैयाँ मूल्य बराबरको फर्सीको बियाँ सशस्त्र प्रहरीले बरामद गरेको छ।
आज बिहान ३.४५ बजे मेचीनगर ६ तुर्केनीस्थित सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा.काँकडभिट्टाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक योगबहादुर थापाको कमाण्डमा खटिएको गस्ती टोलीले अबैध रुपमा भन्सार छली नेपालबाट भारततर्फ लैजादै गरेको अन्दाजी ५ लाख मूल्य बराबरको १९ बोरा फर्सीको बियाँ नियन्त्रणमा लिएको हो। बरामद बियाँको कुल तौल ५७० किलोग्राम रहेको छ।
नियन्त्रणमा लिइएको सामग्री आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वार्टर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्मचार्यले जानकारी दिएका छन्।