झापा / अमेरिका र इरानबीच पछिल्लो समय बढ्दै गएको सैन्य तनावले मध्यपूर्वमा मात्र नभई विश्वकै ऊर्जा बजारलाई प्रभावित गर्न थालेको छ। विशेषगरी विश्वको महत्वपूर्ण तेल ढुवानी मार्ग होर्मुज जलडमरूमध्यमा पानीजहाजको आवागमन तीव्र रूपमा घटेपछि अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्ति संकटको चिन्ता बढेको छ।
रोयटर्सका अनुसार सोमबार होर्मुज जलडमरूमध्यबाट ७ वटा कमोडिटी जहाज मात्रै पार भएका छन्। अघिल्लो दिन ८ वटा जहाज पार भएका थिए। पछिल्लो १० दिनको औसत हेर्दा दैनिक करिब १० वटा कमोडिटी जहाज मात्र यो मार्गबाट गुज्रिएका छन्, जुन मे महिनायता सबैभन्दा न्यून स्तर हो।
जहाजको आवागमन घट्नुको मुख्य कारण अमेरिका र इरानबीच पछिल्लो समय भएका पारस्परिक सैन्य आक्रमण र इरानको प्रतिशोधको चेतावनी हो। इरानले अमेरिकाले थप आक्रमण गरे खाडी क्षेत्रमा रहेका ऊर्जा पूर्वाधार तथा अमेरिकी तेल–ग्यास हितमाथि समेत कारबाही हुन सक्ने चेतावनी दिएको छ ।
तनाव बढेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार उकालो लागेको छ। मंगलबार ब्रेन्ट कच्चा तेलको मूल्य ९७.३४ डलर प्रतिब्यारेल पुगेको छ भने अमेरिकी WTI ९२.६३ डलर प्रतिब्यारेल पुगेको रोयटर्सले जनाएको छ।
विश्लेषकहरूले मध्यपूर्वको द्वन्द्व लम्बिएमा तेलको मूल्य अझै बढ्न सक्ने चेतावनी दिएका छन्। गोल्डम्यान स्याक्सले पनि आपूर्ति अवरोध लामो समय रहे तेलको मूल्यमा थप दबाब पर्ने अनुमान गरेको छ। केही जोखिमपूर्ण परिस्थितिमा ब्रेन्ट कच्चा तेल १२० डलर प्रतिब्यारेलसम्म पुग्न सक्ने प्रक्षेपणसमेत गरिएको छ।