झापा । साझा संस्थाको भवनमा रहेको अस्थायी प्रहरी चौकीलाई गरामनीका बासिन्दाहरुले कुनै पनि हालतमा सार्न नदिने भएका छन् ।
गरामनीको बीच बजारमा २० औं वर्षदेखि साझा संस्थाको भवनमा रहेको प्रहरी चौकीलाई जनप्रतिनिधिसहितको आम भेलाले सार्न नदिने निर्णय गरेको हो । बिर्तामोड ८ को गरामनी बजारमा रहेको अस्थायी प्रहरी चौकीलाई अन्यत्र सार्ने कुरा सुनिएकोमा सार्ने भनिएको जग्गा प्रहरी चौकीको लागि अनुपयुक्त भएको हुँदा हालसम्म रहेको साविक स्थानमै व्यवस्थापन गर्ने गराउने भेलाले निर्णय गरेको छ ।
बिर्तामोड ९ का वडाध्यक्ष हरिप्रसाद चम्लागाईको संयोजकत्वमा भएको भेलामा वडा नं ८ का वडाध्यक्ष अजय कार्की , पार्टी प्रतिनिधिमा नेपाली कांग्रेसका उत्तम कटुवाल , नेकपा माओवादी केन्द्रका मोहन सुब्बा , तेजराज विमली , राप्रपाका नवराज भट्टराई ,कुमार दर्नाल ,नेकपा एमालेका केशव कार्की, स्थानीयहरु मदन प्रसाई , जीवन भण्डारी , अस्लाम खान ,बद्री प्याकुरेल ,रुद्र बराल, पदम बर्देवा , कुमार राई ,गणेश सुवेदी , चिरञ्जीवि कार्की , दुर्गा सुवेदी , सन्तोष रोक्का , जीवन कार्की ,भक्तबहादुर श्रेष्ठ , हरि न्यौपाने , सुरेन राजवंशीलगायतको उपस्थिति रहेको थियो । भेलाका सहभागीहरुले केही व्यक्तिले आफ्नो निजी फाइदाका लागि गरामनी क्याम्पसदेखि उत्तरपट्टि एकान्त ठाउँमा प्रहरी चौकी सार्न लागेको बताएका छन् । उनीहरुले जग्गा , भवनलगायत पर्याप्त पूर्वाधार रहेको साविक ठाउँमै प्रहरी चौकीलाई व्यवस्थापन गर्न छाडेर स्वार्थ समूहले सार्ने षडयन्त्र गरिरहेको ठहर गरेका छन् । गरामनी क्याम्पसदेखि उत्तरपट्टि हरि पाण्डे , नारायणसिंह राजवंशी र विष्णुप्रसाद राजवंशीले जग्गा दिन लागेको र सोही जग्गामा प्रहरी चौकी सार्न लागेको बताइएको छ ।