वैदिक सनातन हिन्दु पात्रो 'पञ्चाङ' अनुरुप एउटा पूर्ण चन्द्रमा पुनः नयाँ
चन्द्रमा भएर आकाशमा उपस्थित हुन लगाउने समयलाई पन्ध्रवटा समान समय भागमा
बिभाजन गरिएको छ र चन्द्रको प्रत्यक चलायमान समय भागलाई तिथी भनिन्छ ।
चन्द्रको अवस्थिती अनुसार तय गरिएको तिथीको एघारौं दिनलाई एकादशी भनिन्छ ।
वैदिक
सनातन हिन्दु धर्ममा एकादशीलाई भगवान बिष्णुको उपाशनागर्ने दिनका रुपमा
लिइन्छ । भविष्योत्तर पुराण्मा एकादशीहरुको महिमा प्रष्टसँग वर्णन गरिएको छ
। ब्रत बस्ने, भजन गर्ने, एकादशी महात्मय कथा श्रवण गर्ने र जप, होम आदि
गर्ने चलन छ ।
भर्खरै एउटा विदेशी स्वास्थ अध्यन केन्द्रले गरेको
अध्ययनमा समय समयमा व्रत बस्नाले स्वास्थ राम्रो हुने र अध्यात्मिक
शुद्धिसम्म हुने पुष्टि भएको छ । सनातन धर्म र रितीहरु यस हिसाबले कति
वैज्ञानिक छन् भन्ने पनि पुष्टि पनि गर्दछ ।
अषाढ शुक्लपक्षमा
पर्ने हरिशयनी एकादशीलाई एउटा महत्वपूर्ण एकादशीका रुपमा वैदिक
शास्त्रहरूमा व्याख्या गरिएको पाइन्छ । श्रृष्टिकर्ता भगवान हरि अर्थात
विष्णु यस एकादशीबाट चार महिनाका लागी क्षीर सागरमा सुत्न जाने हुँदा यस
एकादशीलाई हरिशयनी एकादशी या देवशयनी र असारे एकादशी पनि भनिन्छ । यस
एकादशीमा सुतेका हरि कार्तिक महिनाको हरिबोधिनी एकादशीमा मात्र जाग्ने
जनविश्वास पाईन्छ । यस एकादशीमा पूजा अर्चना र व्रत बस्नाले सम्पूर्ण पापको
मोचन हुने र सुकर्म फल प्राप्त हुने विश्वाश रहिआएको छ । 'भविष्योक्तरा'
पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम यस एकादशीको महिमा भगवान ब्रह्माले
नारदजीलाई भनेको र पछि युधिष्ठिरले भगवान कृष्णलाई पनि भनेको उल्लेख छ ।
चलिआएको
प्राचिन किम्वदन्तिका अनुसार, एकादेशमा एउटा सम्पन्न राज्यमा एकजना
धार्मिक राजा मन्दाताले शासन गर्ने गर्थे तर लगातारको तिन बर्षको खडेरीले
गर्दा त्यस राज्यमा समस्या उत्पन्न भएको थियो, नदि-नाला सुक्न थालेका थिए र
रुख विरुवाहरुले हरियाली गुमाइसकेका थिए । राजाको अपराधका कारणले गर्दा
राज्यले र नागरिकले समस्या भोग्दछन भन्ने मान्यता रहेकाले राजा मन्दाताले
आफ्नो कुनै गल्तीका कारणले बर्षाका देवता भगवान् नारायण आफूसँग रिसाउनुभएको
ठानेर जति गर्दा पनि उनि आफूबाट भएको भूल पत्ता लगाउन सकिरहेका थिएनन् ।
एकदिन राजाले अंगीरा नामका ज्ञानीलाई भेटेर समस्याको सामाधानका रुपमा
हरिशयनी एकादशीके महिमाका बारेमा थाहा पाँउछन् र यस एकादशीको दिन पूजा
अर्चना र व्रत बसेपश्चात् राज्यमा वर्षा भएको जनविश्वास रहेको छ ।
बिष्णु
भगवान क्षीर सागरमा सुतेको बेला अर्थात् चर्तुमाशभरि कुनै पनि मङ्गल
कार्यहरुजस्तै बिवाह, व्रतबन्ध आदिको लगन हुँदैन । कार्तिक शुक्ल एकादशी
अर्थात् हरिबोधनी एकादशी पश्चात् मात्र मङ्गल लगन तथा मुहुर्तहरु हुन्छन् ।
बिष्णु भगवान त्यसपछिमात्र क्षीर सागरबाट उठ्नुहुने मान्यता छ ।
किम्वदन्ती
तथा कथाहरुले जेसुकै भनेपनि राम्रो र सत्यकर्म मानव जीवनको अमूल्य सम्पति
हो । सत्यपथतर्फ लम्किँदै जानुहोस प्रगति तपाईंको साथमा हुनेछ ।