झापा / कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
कपिलवस्तु जिल्ला अदालतले कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि भएको कुटपिट घटनामा अनुसन्धानका लागि सांसद शाहलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो।
पीडित शर्माले सांसद शाह, कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाहसहित १५–२० जनाको समूह आफ्नो निवासमा प्रवेश गरी अन्धाधुन्ध सामूहिक कुटपिट गरेको भन्दै किटानी जाहेरी दिएका थिए।
कुटपिटको घटनामा शाहविरुद्ध मुद्दा दर्ता भएर कानुनी प्रक्रिया अघि बढेको कपिलवस्तु प्रहरीका सूचना अधिकारी डीएसपी रिपेन्द्रकुमार सिंहले बताए । यसअघि आक्रमणमा संलग्न व्यक्तिहरूविरुद्ध जाहेरी दिन जाँदा प्रहरीले आलटाल गरेको पीडित पक्षले गुनासो गरेका थिए ।
चौतर्फी दबाबपछि कपिलवस्तु प्रहरीले मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाएको छ भने हाल प्रहरीले सांसद शाहको खोजी कार्य तीव्र पारेको जनाएको छ।