मामा भान्जा साइनो रहेका झापा भद्रपुरमा दुई युवकको भारतको बतासीमा कारको ठक्करबाट मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा भद्रपुर –५, सुन्दरबस्ती निवासी बर्ष २५ का भान्जा बिजय सहनी र मामा वर्ष ३१ का अशोक सहनी रहेका छन् । हिजो उनीहरु सवार मोटरसाइकललाई भारतीय कारले ठक्कर दिएको थियो ।
भान्जा बिजय सहनीले भदौ ११ गते आफ्नो जन्मदिन मनाएका थिए। फुर्सदको समयमा उनीहरु हिजो सिलिगुडी घुम्न निस्किएका थिए । भद्रपुर –५, सुन्दरबस्ती घरबाट बिहान ७ बजेतिर उनीहरु मोटरसाइकलमा निस्किएका थिए । सिलिगुडी जानेक्रममा भारतको पश्चिम बंगालस्थित बतासी अधिकारी बाइपास रोड केलाबारीमा तिव्र गतिमा हुँइकिदै आइरहेको आर्टिका कारले अफसाइटमा आएर मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा परी भान्जा बिजय सहनीको घटनास्थलमै मृत्यु भएको थियो भने मामा अशोक गंभीर घाइते भएका थिए । अस्पताल पुर्याइएका अशोकको पनि उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनापछि कार चालक फरार भएका थिए । उनलाई पक्राउ गरी आज अदालतमा पेश गरिएको भारतीय संचार माध्यमले जनाएका छन् ।