झापा । लज्जावती झारजस्तै देखिने ‘उल्टा काँडा’ नामक मिचाहा प्रजातिको झार नियन्त्रणका लागि भद्रपुर नगरले सवैलाइ एकजुट हुन आब्हन गरेको छ । जैविक विविधता,खेतीयोग्य जमिन, सडक र पशुपालनमा यस्ता झारको साम्राज्य बढ्न थालेपछि भद्रपुर नगरले अभियान मार्फत सचेतना जगाउँदै एकजुट हुन आब्हन गरेको हो ।
फरेस्ट एक्सन नेपाल झापाले भद्रपुर भित्र मिचाहा प्रजातिका वनस्पतीका विषयमा नगरलाइ जानकारी गराएपछि नगरपालिका र फरेस्ट एक्सनको सहकार्यमा गरेको स्थलगत अनुगमनमा भद्रपुरका सबै वडामा फैलिएको तथ्य फेला परको थियो । झारको साम्राज्य बढेको पाइएपछि नगरले पुस १८ गतेबाट नगर भित्र रहेका १० वटै वडामा टोल विकास संस्था, स्थानीय , विभिन्न सङ्घ संस्था,राजनीतिक दल ,जनप्रतिनिधि लगायतको उपस्थितिमा छलफल गरी जानकारी गराएको थियो । नगरले वडा नम्बर १ स्थित शारदा विश्वकर्माको करिब १० कठा जग्गामा फैलिएको उल्टा काँडा झारमा नै गएर आज पहिलो चरणको सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा फरेस्ट एक्सनका फोकल पर्सननद्धय रविन्द्र पुन मगर र मुना भट्टराइले प्रष्ट पारेका थिए । मिचाहा प्रजातिका वनस्पति नियन्त्रणमा वडाले चासो लिएर अघि बढने वडा नम्बर १का वडाअध्यक्ष रामप्रसाद अधिकारी बताउँछन् । उल्टा काडा झारले गर्दा अन्नबाली नै उब्जनी हुन बन्द भएको जग्गाधनी शारदा विश्वकर्माको भनाइ छ ।
नगरले केही दिनको अभियान सम्पन्न गरिसकेकोले अब कार्ययोजना बनाएर लैजाने नगरका वन तथा वातावरण व्यवस्थापन शाखा प्रमुख नेत्रप्रसाद पोखरेल बताउँछन् । फरेस्ट एक्सन नेपालको सहकार्यमा मिचाहा प्रजातिका वनस्पती पहिचान भइसकेको हुँदा नगरको चासोको विषय बनेको प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला बताउँछन् ।
उल्टा काँडाले नगरमा कब्जा जमाउन थालेको पाइएकोले अव सवैको सहकार्यमा नियन्त्रण तर्फ लाग्न जरुरी देखिएको नगर प्रमुख गणेश पोखरेल बताउँछन् ।
झापाको टिमाइ, विरिङ, रतुवा, मावालगायतका खोला किनारबाट ल्याइने बालुवासँगै यसको विज गाउँबस्तीमा फैलिने गरेको छ ।
झापाका अधिकांश सामुदायिक वन, सहरका नयाँ घडेरी क्षेत्र र सडक किनारमा यसले रैथाने झारलाई विस्थापित गरिरहेको देख्न सकिन्छ ।
वैज्ञानिक नाम ‘मिमोसा डिप्लोट्राइका’ रहेको यो आगन्तुक झारलाई स्थानीयले ‘उल्टा काँडा’ भन्ने गर्छन् । लज्जावती झारसँग मिल्दोजुल्दो यो झारको पात, डाँठ र फूलमा मिमोसिन नामक विषालु रसायन हुने भएकाले उल्टा काँडाको घाँसझुस हुन्छ भने यसको घाँस खाएका पशु बिरामी भएर मर्ने गरेको विज्ञको भनाइ छ । यसको झुस र काँडा बिझेमा पशु र मानिसको शरीरमा चिलाउने र घाउ बन्ने गर्दछ । यसलाइ नियन्त्रणमा लिन कात्तिक महिना प्रभावकारी हुने जनाइएको छ । कोसा लागिसकेपछि आगो लगाउँदा बिउ माटोमा झरेमा पचाँस बर्षसम्म रहने उल्लेख छ ।
भुटानी शरणार्थी शिविरको घेराबाराका लागि यसको बीज ल्याएर छरिएको र त्यहीँबाट फैलिएको अनुसन्धानले देखाएको छ ।
अरेली काँडाको जस्तो काँडा र लज्जावतीको जस्तो पात हुने यसको झाडी तीव्रगतिमा फैलिन्छ । खोलाको किनार, बगर, खुला ठाउँ, जङ्गल, सडक छेउछाउ र ढुङ्गा बालुवा छरिएको ग्राभेल बाटोमा यो जताततै भेटिने गर्छ । खोलाबाट ढुङ्गा र बालुवा ल्याइएको कारण सहरका घडेरी र सडकमा यसको झाडी फैलिएको विज्ञहरुको भनाइ छ ।