मुख्य समाचार
सत्तामा पुगेका बालेन : मेयर हुँदा गरेका वाचा कति सम्झिए, कति बाटोमै छाडे? | सरकारले रोक्यो तरबुजाको बिउ आयात, भद्रपुरमा बरामद ३७ हजार ९२० किलो बियाँको रहस्य कायमै | जापानिज इन्सेफ्लाइटिसबाट मेचिनगरमा थप एकजनाकाे मृत्यु | औषधि निरीक्षण कमजोर बन्दै, बजारमा गुणस्तर र उपलब्धतामाथि बढ्यो चिन्ता | योग्यता मिचेर नियुक्ति, सर्वोच्चको हस्तक्षेपमा वायुसेवा निगम अध्यक्ष पद बदर | इलामेली फर्निचर उद्योगबाट अबैध साल जातको चिरान काठ बरामद | जापानमा भद्रपुरकी लक्ष्मी राजवंशी मृत फेला | सीमा विवाद समाधानतर्फ नेपाल–भारतको नयाँ पहल, कार्यदल बैठकमा के हुँदैछ ? | भद्रपुरलाई उपमहानगरपालिका बनाउन सिफारिस गर्ने निर्णय | रतुवामा जस्तै निन्दा , बिरिङ र कन्काईमा पनि आर्क पुल बन्दै |
मुख्य समाचार
सत्तामा पुगेका बालेन : मेयर हुँदा गरेका वाचा कति सम्झिए, कति बाटोमै छाडे? | सरकारले रोक्यो तरबुजाको बिउ आयात, भद्रपुरमा बरामद ३७ हजार ९२० किलो बियाँको रहस्य कायमै | जापानिज इन्सेफ्लाइटिसबाट मेचिनगरमा थप एकजनाकाे मृत्यु | औषधि निरीक्षण कमजोर बन्दै, बजारमा गुणस्तर र उपलब्धतामाथि बढ्यो चिन्ता | योग्यता मिचेर नियुक्ति, सर्वोच्चको हस्तक्षेपमा वायुसेवा निगम अध्यक्ष पद बदर | इलामेली फर्निचर उद्योगबाट अबैध साल जातको चिरान काठ बरामद | जापानमा भद्रपुरकी लक्ष्मी राजवंशी मृत फेला | सीमा विवाद समाधानतर्फ नेपाल–भारतको नयाँ पहल, कार्यदल बैठकमा के हुँदैछ ? | भद्रपुरलाई उपमहानगरपालिका बनाउन सिफारिस गर्ने निर्णय | रतुवामा जस्तै निन्दा , बिरिङ र कन्काईमा पनि आर्क पुल बन्दै |


सत्तामा पुगेका बालेन : मेयर हुँदा गरेका वाचा कति सम्झिए, कति बाटोमै छाडे?

भेषराज नेपाल 106+ समाचार ( )
५ भाद्र २०८३, शुक्रबार

झापा / बालेन्द्र शाह अर्थात् बालेन। २०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर बनेका बेला उनले आफूलाई परम्परागत राजनीतिको विकल्पका रूपमा प्रस्तुत गरे। उनको सबैभन्दा ठूलो राजनीतिक पूँजी थियो—‘काम गरेर देखाउने’ दाबी।

त्यतिबेला उनले काठमाडौं महानगरका लागि २८ बुँदे घोषणापत्र सार्वजनिक गरेका थिए। त्यसमा शिक्षा र स्वास्थ्यदेखि फोहोर व्यवस्थापन, सार्वजनिक यातायात, पार्किङ, डिजिटल सरकार, सार्वजनिक शौचालय, रोजगारी र वातावरणसम्मका महत्वाकांक्षी योजना थिए। अहिले उनी मेयरको कुर्सीमा छैनन्। २०२६ मा राष्ट्रिय राजनीतिमा पुगेका बालेन प्रधानमन्त्री बनेका छन्। त्यसैले प्रश्न अब अझ ठूलो भएको छ—मेयर हुँदा काठमाडौंवासीसँग गरेका वाचा कति पूरा भए? र अधुरा योजना के अब राष्ट्रिय सरकारको जिम्मेवारीमा पुग्दा पूरा हुन्छन्?

फोहोर : समस्या हट्यो, तर दीर्घकालीन समाधान आएन

बालेनको सबैभन्दा चर्चित चुनावी एजेन्डा फोहोर व्यवस्थापन थियो। उनले काठमाडौंको फोहोरलाई स्रोतमा नै वर्गीकरण गर्ने, जैविक फोहोरबाट मल उत्पादन गर्ने, पुनः प्रयोगयोग्य फोहोर छुट्याउने र आधुनिक प्रविधिबाट फोहोर व्यवस्थापन गर्ने योजना अघि सारेका थिए।

तर उनको कार्यकालको अन्त्यसम्म आइपुग्दा स्रोतमा फोहोर वर्गीकरण र काठमाडौंमै उच्च प्रविधिबाट दीर्घकालीन व्यवस्थापन गर्ने मूल योजना पूर्णरूपमा कार्यान्वयन भएको देखिएन। बञ्चरेडाँडामा फोहोर पठाउने परम्परागत प्रणाली नै मुख्य आधार रह्यो। उनको कार्यकालको समीक्षा गर्दै प्रकाशित सामग्रीले पनि फोहोर छुट्याउने र आधुनिक व्यवस्थापनसम्बन्धी योजना अपेक्षाअनुसार कार्यान्वयन हुन नसकेको उल्लेख गरेको छ।

यसको अर्थ बालेनले फोहोरमा केही गरेनन् भन्ने होइन। काठमाडौंका सडकमा थुप्रिने फोहोरको समस्या नियन्त्रणमा ल्याउन उनको प्रशासनले सक्रियता देखायो। तर फोहोर उठाउनु र फोहोरको दीर्घकालीन समाधान गर्नु दुई फरक कुरा हुन्। यही ठाउँमा उनको चुनावी वाचा र वास्तविक परिणामबीच दूरी देखिन्छ।

सार्वजनिक यातायात : GPS र CCTV कहाँ पुगे?

बालेनको घोषणापत्रमा काठमाडौंका सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने महत्वपूर्ण योजना थियो। उनले सबै सार्वजनिक यातायातमा GPS जोडेर गाडी कहाँ पुगेको छ भन्ने जानकारी लिन सकिने व्यवस्था गर्ने र सुरक्षाका लागि सार्वजनिक सवारीमा CCTV राख्ने वाचा गरेका थिए।

तर उनको मेयर कार्यकाल सकिँदासम्म काठमाडौंका सबै सार्वजनिक यातायातमा GPS र CCTV जडान भएको अवस्था देखिएन।

यातायात व्यवस्थापनमा केही सुधारका प्रयास भए, पार्किङ नियन्त्रण र सडक अनुशासनमा महानगरले हस्तक्षेप गर्‍यो। तर घोषणापत्रमा भनिएको ‘सबै सार्वजनिक यातायातलाई प्रविधिसँग जोड्ने’ लक्ष्य भने पूर्ण रूपमा स्थापित भएको भन्न सकिने आधार कमजोर छ।

प्रत्येक वडामा सार्वजनिक शौचालयको वाचा

बालेनले प्रत्येक वडामा सार्वजनिक शौचालय स्थापना गर्ने घोषणा गरेका थिए।

यो सामान्य देखिए पनि काठमाडौंजस्तो राजधानीका लागि महत्वपूर्ण योजना थियो। तर पाँच वर्षको कार्यकाल पूरा नहुँदै उनले मेयर पद छाडेका कारण घोषणापत्रमा उल्लेख गरिएका सबै वडामा व्यवस्थित, पहुँचयोग्य र मापदण्डयुक्त सार्वजनिक शौचालयको लक्ष्य पूरा भएको दाबी गर्न सकिँदैन।

‘आइडिया बैंक’ र रोजगारीको सपना

उनको घोषणापत्रमा रोजगारी र उद्यमशीलता प्रवर्द्धनका लागि ‘आइडिया बैंक’ स्थापना गर्ने योजना थियो।

काठमाडौंमा सीप विकास, तालिम र ‘एक वडा, एक नमुना कार्यक्रम’ जस्ता पहल भएका थिए। तर घोषणापत्रमा कल्पना गरिएको आइडिया बैंकलाई ठूलो र प्रभावकारी रोजगारी सिर्जना गर्ने संस्थागत संयन्त्रका रूपमा स्थापित गरिएको स्पष्ट परिणाम देखिएन।

यसले एउटा प्रश्न उठाउँछ—योजना घोषणा गर्नु र त्यसलाई संस्थागत बनाउनुबीचको दूरी कति ठूलो रहेछ?

‘एक घर, एक रूख’ अभियान कहाँ हरायो?

वातावरणतर्फ बालेनको घोषणापत्रमा ‘एक घर, एक रूख’ अभियान थियो।

काठमाडौंको वायु प्रदूषण र हरियालीको अवस्था हेर्दा यो अभियानलाई महानगरको दीर्घकालीन शहरी वातावरण नीति बनाउने अवसर थियो। तर यो नाराले घोषणापत्रमा अपेक्षित व्यापक संस्थागत रूप लिन सकेन।

यसलाई बालेनको असफलता भनेर ठोकुवा गर्नुभन्दा ‘घोषणापत्रमा रहेको महत्वाकांक्षी लक्ष्य पूर्णरूपमा कार्यान्वयन हुन सकेन’ भन्नु तथ्यसम्मत हुन्छ।

स्वास्थ्य : केही काम भए, तर सबै वाचा पूरा भएनन्

बालेनले महानगरको आफ्नै एम्बुलेन्स सेवा, कल सेन्टरमार्फत सेवा सञ्चालन तथा ७० वर्षभन्दा माथिका नागरिकलाई घरमै निःशुल्क स्वास्थ्य परीक्षण गर्ने वाचा गरेका थिए।

महानगरले स्वास्थ्य क्षेत्रमा बजेट बढायो, केही अस्पतालमा सहयोग गर्‍यो र वडास्तरमा स्वास्थ्य प्रवर्द्धन तथा आधारभूत स्वास्थ्य सेवाको विस्तार गर्ने काम अघि बढ्यो।

तर घोषणापत्रमा भनिएजस्तो हरेक ७० वर्षमाथिका नागरिकको घरघरमै निःशुल्क स्वास्थ्य परीक्षण र महानगरकै पूर्ण सुविधायुक्त एम्बुलेन्स तथा कल सेन्टर प्रणाली व्यापक रूपमा कार्यान्वयन भएको देखिँदैन।

अर्थात् स्वास्थ्य क्षेत्रमा काम भयो, तर सबै चुनावी वाचा पूरा भए भन्न मिल्दैन।

शिक्षा : बालेनको सबैभन्दा बलियो रिपोर्ट कार्ड

बालेनको मेयर कार्यकालमा सबैभन्दा उल्लेखनीय सुधार देखिएको क्षेत्र शिक्षा हो। ‘बुक फ्री फ्राइडे’ अर्थात् शुक्रबार पाठ्यपुस्तकबिना सीप, सिर्जनात्मक तथा अतिरिक्त गतिविधि गराउने कार्यक्रम अघि बढाइयो। निजी विद्यालयमा कानुनअनुसार छात्रवृत्ति कार्यान्वयनमा पनि महानगरले कडाइ गर्‍यो। शिक्षक तालिम, प्रविधिको प्रयोग र सीपमूलक शिक्षामा जोड दिइयो।

त्यसैले बालेनका सबै वाचा बिर्सिए भन्नु पनि तथ्यको अपमान हुन्छ। शिक्षा क्षेत्रमा उनले घोषणापत्रको भावनाअनुसार केही ठोस काम गरेका छन्।

भूमिगत पार्किङ : यहाँ भने हस्तक्षेप देखियो

बालेनको कार्यकालमा भूमिगत पार्किङको विषयमा महानगरले कडा कदम चाल्यो। पार्किङका लागि स्वीकृत ठाउँलाई अन्य प्रयोजनमा प्रयोग गर्ने संरचनामाथि कारबाही गरियो।

यसको परिणामस्वरूप केही क्षेत्रमा सडक पार्किङ नियन्त्रणमा आयो। तर यससँगै साना व्यवसायी र फुटपाथ व्यापारीमाथि नगर प्रहरीको व्यवहारलाई लिएर गम्भीर आलोचना पनि भयो।

यसबाट देखिन्छ कि बालेनले ‘व्यवस्था बदल्ने’ प्रयास गरे, तर त्यसको कार्यान्वयनको शैली सधैं विवादमुक्त रहेन।

टुकुचा र सुकुम्बासी : घोषणा ठूलो, समाधान अधुरो

टुकुचा खोलामाथिका संरचना हटाउने अभियान, सार्वजनिक जग्गा संरक्षण तथा नदी किनारका अनधिकृत संरचना हटाउने विषयमा बालेन निकै आक्रामक देखिए।

तर टुकुचा पूर्ण रूपमा व्यवस्थित भयो? काठमाडौंका सुकुम्बासी समस्या समाधान भयो? यसको उत्तर ‘हो’ भन्न सकिँदैन।

उल्टै नदी किनारका बस्ती हटाउने क्रममा महानगर र सुकुम्बासीबीच तनाव तथा झडपसम्म भयो। अनधिकृत संरचना हटाउने काम भए पनि पुनर्स्थापना, वैकल्पिक आवास र दीर्घकालीन समाधानका प्रश्न बाँकी रहे।

यही कारण बालेनमाथि ‘डोजर चलाउन सजिलो, समस्या समाधान गर्न गाह्रो’ भन्ने आलोचना पनि भयो।

डिजिटल सरकार र पारदर्शिता : सकारात्मक काम

बालेनको कार्यकालको अर्को सकारात्मक पक्ष महानगर कार्यपालिकाका बैठक प्रत्यक्ष प्रसारण गर्नु र सेवा प्रवाहलाई डिजिटल बनाउने प्रयास हो। अनलाइन भवन नक्सा स्वीकृति तथा डिजिटल हस्ताक्षरजस्ता अभ्यासले प्रशासनिक प्रक्रियामा प्रविधिको प्रयोग बढायो।

यसलाई भने उनको ‘सुशासन’ सम्बन्धी प्रतिबद्धताको केही ठोस परिणाम मान्न सकिन्छ।

तर एउटा ठूलो कमजोरी : नागरिकसँग दूरी

बालेनको प्रशासनमाथि उठेको सबैभन्दा गम्भीर प्रश्न कामको भन्दा पनि शैलीको हो।

उनको कार्यकालको समीक्षा गर्ने सामग्रीमा उनी प्रत्यक्ष रूपमा नागरिकसँग कम जोडिएको, सार्वजनिक सुनुवाइलाई पर्याप्त प्राथमिकता नदिएको र सामाजिक सञ्जालमार्फत बढी संवाद गरेको आलोचना गरिएको छ।

लोकतन्त्रमा मेयर केवल डोजर चलाउने व्यक्ति होइन। फरक मत सुन्ने, विरोध गर्ने नागरिकसँग संवाद गर्ने, वडाध्यक्ष र कार्यपालिका सदस्यसँग सहकार्य गर्ने र निर्णयको राजनीतिक तथा सामाजिक स्वामित्व निर्माण गर्ने जिम्मेवारी पनि मेयरकै हो।

बालेनले केही ठाउँमा ‘म गर्छु’ भन्ने शैलीलाई प्राथमिकता दिए। तर स्थानीय सरकार सामूहिक निर्णय र संस्थागत प्रक्रियाबाट चल्ने सरकार हो। यही ठाउँमा उनको शैली र स्थानीय लोकतन्त्रबीच तनाव देखियो।

अब प्रश्न काठमाडौंको होइन, देशको हो

आज बालेन काठमाडौं महानगरका मेयर मात्र होइनन्। उनी राष्ट्रिय सत्ताको नेतृत्वमा पुगेका छन्। त्यसैले मेयर हुँदा अधुरा रहेका योजनाको हिसाब अझ महत्वपूर्ण भएको छ।

मेयर हुँदा सार्वजनिक यातायातमा GPS र CCTV, घरघरमा स्वास्थ्य परीक्षण, प्रत्येक वडामा सार्वजनिक शौचालय, आधुनिक फोहोर व्यवस्थापन, स्रोतमा फोहोर वर्गीकरण, आइडिया बैंक, एक घर एक रूख, पूर्वाधार एम्बुलेन्सलगायतका योजना प्रस्तुत गर्ने नेता अब देशको प्रधानमन्त्री बनेका छन्।

अब जनताले सोध्न पाउनेछन्का, ठमाडौंमा पूरा हुन नसकेका वाचा देशभर कसरी पूरा हुन्छन्?

मेयरको अधिकार सीमित थियो भन्ने तर्क आफ्नो ठाउँमा सही हो। फोहोर व्यवस्थापनमा संघीय सरकार र अन्य स्थानीय तहसँग समन्वय आवश्यक थियो भन्ने तत्कालीन महानगर नेतृत्वको तर्क पनि सार्वजनिक रूपमा आएको थियो।

तर यही तर्कले अर्को प्रश्न जन्माउँछ, यदि अधिकार र समन्वयको समस्या थियो भने, प्रधानमन्त्री बनेपछि त्यही समस्या समाधान गर्ने अवसर त झन् बालेनकै हातमा आएको छ।

बालेनलाई असफल भन्न मिल्छ?

समग्र मूल्यांकन गर्दा बालेनको मेयर कार्यकाललाई न पूर्ण सफलता भन्न मिल्छ, न पूर्ण असफलता।

उनले केही क्षेत्रमा पुरानो शैली तोडे । शिक्षा, डिजिटल सेवा, पार्किङ व्यवस्थापन, सार्वजनिक जग्गा संरक्षण र सडक अनुशासनमा हस्तक्षेप गरे।

तर अर्कोतर्फ, घोषणापत्रका धेरै महत्वाकांक्षी योजना अधुरै रहे । विशेषगरी दीर्घकालीन फोहोर व्यवस्थापन, सार्वजनिक यातायातको पूर्ण डिजिटल ट्र्याकिङ, सबै वडामा सार्वजनिक शौचालय, घरघर स्वास्थ्य परीक्षण, आइडिया बैंक, एक घर एक रूख र केही पूर्वाधारसम्बन्धी योजनाहरू।

त्यसैले बालेनको राजनीतिक यात्राको वास्तविक परीक्षा अब सुरु भएको छ।

मेयर हुँदा उनले अरू दललाई प्रश्न गरेका थिए, ‘किन गरेनौ?’

अब प्रधानमन्त्रीका रूपमा जनताले उनलाई नै प्रश्न गर्नेछन्, ‘तपाईंले मेयर हुँदा भन्नुभएको कुरा कति गर्नुभयो, र देश चलाउँदा तपाईंले नयाँ के गर्नुभयो?’

बालेनको लोकप्रियता उनको सबैभन्दा ठूलो शक्ति हो। तर त्यही लोकप्रियता उनको सबैभन्दा ठूलो परीक्षा पनि हो। किनकि जनताले उनलाई परम्परागत नेताजस्तो मूल्यांकन गर्ने छैनन्। उनले आफैं बनाएको मापदण्डमा उनी आफैं नापिनुपर्नेछ।

बालेनले मेयर हुँदा दिएका वाचा बिर्सिए कि समय र अधिकारको सीमाले केही अधुरा रहे, यसको अन्तिम फैसला भाषणले होइन, तथ्यांक र परिणामले गर्नेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै