झापा / नेपाल सरकारले सुडानबाट आयात हुने तरबुजाको बिउ नयाँ प्रवेश अनुमतिपत्र जारी गर्न रोक लगाएसँगै नेपालमा पछिल्लो समय अस्वाभाविक रूपमा बढेको तरबुजाको बिउ कारोबारमाथि थप प्रश्न उठेको छ। सरकारले भदौ ५ गतेदेखि अर्को निर्णय नभएसम्म सुडानबाट आउने तरबुजाको खाने बिउको नयाँ प्रवेश अनुमतिपत्र रोक्ने निर्णय गरेको हो।
कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले भदौ ४ गते सबै क्वारेन्टिन कार्यालयलाई पत्र पठाउँदै यस्तो निर्देशन दिएको थियो। आयातसँगै आउने बिरुवा स्वस्थताको प्रमाणपत्रमा केही विषय शंकास्पद देखिएपछि थप परीक्षण, प्रमाणीकरण तथा जोखिम विश्लेषण गर्नुपर्ने भएकाले तत्कालका लागि नयाँ प्रवेश अनुमतिपत्र रोकिएको केन्द्रले जनाएको छ।
सरकारको यो निर्णयले नेपालमा तरबुजाको बिउ आयातको अस्वाभाविक वृद्धिलाई फेरि बहसमा ल्याएको छ। भन्सार तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा करिब १४ करोड रुपैयाँको तरबुजाको बिउ आयात भएकोमा आर्थिक वर्ष २०८२/८३ मा यस्तो आयात बढेर ३ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ।
तर नेपालमा खेतीका लागि वार्षिक आवश्यक पर्ने बिउको परिमाणसँग तुलना गर्दा यो आयात अस्वाभाविक रूपमा ठूलो देखिन्छ। यही कारण आयात भएको बिउ नेपालमै खपत भइरहेको हो वा अन्यत्र पठाउने प्रयोजनका लागि नेपाललाई ट्रान्जिटका रूपमा प्रयोग गरिएको हो भन्ने प्रश्न उठ्दै आएको छ।
यही प्रश्नलाई थप बलियो बनाउने घटना झापाको भद्रपुरमा भएको छ।
भद्रपुर–३ ज्ञानेचोकस्थित एक घरबाट प्रहरीले ३७ हजार ९२० किलो चिनियाँ खरबुजाको बियाँ बरामद गरेको थियो। ९४८ बोरामा राखिएको उक्त बियाँ बरामदपछि भद्रपुर भन्सार कार्यालयमा दाखिला गरिएको थियो।
बरामद बियाँको मूल्यांकन प्रतिकिलो २३७ रुपैयाँका दरले करिब ८९ लाख ८७ हजार रुपैयाँ गरिएको विवरण सार्वजनिक भएको छ। तर यति ठूलो परिमाणको बियाँ कहाँबाट आयो, कसका लागि ल्याइएको थियो र यसको वास्तविक गन्तव्य कहाँ थियो भन्ने प्रश्न अझै अनुत्तरित छ।
झन् गम्भीर पक्ष त के छ भने भद्रपुरको यही प्रकरणमा खरिद गरिएको भनिएको बियाँको परिमाण र प्रहरीले बरामद गरेको परिमाणबीच ठूलो अन्तर देखिएको छ। राजस्व अनुसन्धान कार्यालय इटहरीबाट प्राप्त भिसीटीएस विवरणअनुसार ८१ हजार किलो खरबुजाको बियाँ खरिद भएको देखिन्छ। तर प्रहरीले बरामद गरेको परिमाण भने ३७ हजार ९२० किलो मात्रै हो।
त्यसो भए बाँकी ४३ हजार किलोभन्दा बढी बियाँ कहाँ गयो ?
यही प्रश्न अहिले भद्रपुरको बियाँ प्रकरणको सबैभन्दा महत्वपूर्ण अनुसन्धानको विषय बनेको छ। खरिदको विवरणमा ठूलो परिमाण देखिने तर बरामद हुँदा त्यसको आधाभन्दा कम मात्र भेटिनुले बियाँको बाँकी परिमाणको खोजी गर्नुपर्ने देखिन्छ।
बरामद बियाँमाथि दाबी गर्न भद्रपुर भन्सार कार्यालयले १५ दिने हकदाबी सूचना जारी गरेको थियो। तर तोकिएको अवधिमा कसैले पनि औपचारिक रूपमा हकदाबी नगरेपछि प्रकरण थप रहस्यमय बनेको छ। सार्वजनिक रूपमा आफ्नो सामान भएको दाबी गरेका राजन थापा मगरसमेत हकदावी प्रक्रियामा सहभागी नभएको तथ्यले घटनालाई थप शंकास्पद बनाएको छ। ठूलो रकम खर्च गरेर खरिद गरिएको भनिएको बियाँ आफ्नो भएको दाबी गर्न सम्बन्धित व्यक्ति वा संस्था अगाडि नआउनुले यसको कारोबारको प्रकृतिमाथि थप प्रश्न खडा गरेको छ।
अर्कोतर्फ, बियाँ कारोबारसँग सम्बन्धित कागजात, फर्मको प्रकृति, गोदाम र कारोबारको विवरणसमेत अनुसन्धानको दायरामा आएका छन्। कपडा कारोबारसँग सम्बन्धित अनुमति लिएको फर्मबाट ठूलो परिमाणमा खरबुजाको बियाँ खरिद भएको देखिनुले पनि कारोबारको वैधतामाथि प्रश्न उठाएको छ।
भद्रपुर सीमावर्ती क्षेत्र भएकाले यो प्रकरणलाई सम्भावित अवैध निकासीको कोणबाट समेत हेरिएको छ। नेपालमा आवश्यकताभन्दा अत्यधिक परिमाणमा बियाँ आयात हुने, सीमावर्ती क्षेत्रमा ठूलो परिमाणमा भण्डारण भेटिने र खरिद भएको परिमाणको ठूलो हिस्सा बरामद नभेटिने अवस्थाले यसको वास्तविक गन्तव्यबारे अनुसन्धान आवश्यक देखाएको छ।
यहीबीच सरकारले सुडानबाट आउने तरबुजाको खाने बिउको नयाँ प्रवेश अनुमतिपत्र नै रोकिदिएको छ। सरकारले आयात रोक्नुको तत्कालीन कारण बिरुवा स्वस्थताको प्रमाणपत्रमा देखिएको शंका र थप जोखिम विश्लेषण भए पनि नेपालमा पछिल्लो समय बढेको अस्वाभाविक आयातका कारण यो निर्णयलाई अझ चासोका साथ हेरिएको छ।
अब मुख्य प्रश्न सरकारको निर्णयमा मात्र सीमित छैन। भद्रपुरमा बरामद भएको ३७ हजार ९२० किलो बियाँको वास्तविक मालिक को हो ? ८१ हजार किलो खरिद भएको विवरणमा बाँकी ४३ हजार किलोभन्दा बढी बियाँ कहाँ पुग्यो ? नेपालमा भित्रिएको ठूलो परिमाणको बियाँको अन्तिम गन्तव्य कहाँ हो ?
यी प्रश्नको जवाफ अनुसन्धानबाट नआएसम्म भद्रपुरको बियाँ प्रकरणको रहस्य कायमै रहनेछ। सरकारले आयातमा रोक लगाएर तत्कालका लागि नयाँ प्रवेश नियन्त्रण गरे पनि यसअघि नेपाल भित्रिएको बियाँको स्रोत, कारोबार र गन्तव्य पहिचान गर्नु अब सम्बन्धित निकायका लागि अर्को ठूलो चुनौती बनेको छ।