साङ्केतिक तस्विर
झापा । युवतीमाथि बिर्तामोडको हनुमान कम्प्लेक्समा जबरजस्ती करणी आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम पशुपतिनगर नगरपालिका–२ घर भई हाल बिर्तामोड–५ सुब्बाचोकमा दिदी–भिनाजुको घरमा बस्दै आएका ३६ वर्षीय बिगेन्द्र शेर्पा रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।
प्रहरीले दिएकाे विवरण अनुसार बिर्तामोड नगरपालिका–५ स्थित हनुमान कम्प्लेक्समा १८ वर्षीया युवतीमाथि गएराति करिब ९ बजेको समयमा शेर्पाले जबरजस्ती करणी गरी फरार भएको भन्दै पीडितले राति करिब ११ बजे इलाका प्रहरी कार्यालय अनारमनिमा मौखिक जानकारी गराएकी थिइन्। प्रहरी टोलीले इलाम जिल्ला पशुपतिनगर नगरपालिका–२ घर भई हाल बिर्तामोड–५ सुब्बाचोकमा दिदी–भिनाजुको घरमा बस्दै आएका शेर्पालाई आज बिहान नियन्त्रणमा लिएको हो। प्रहरीले पक्राउ परेका शेर्पामाथि जबरजस्ती करणी सम्बन्धी कसुरमा इप्रका अनारमुनीमा राखी थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटनापछि पीडितलाई स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो। त्यसपछि असार १४ गते बिहान ३ बजे पीडितलाई बिर्तामोड–५ स्थित क्षितिज महिला समाज पुनःस्थापना केन्द्रमा सुरक्षित रूपमा राखिएको प्रहरीले जनाएको छ।