झापा / बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको आइतबार अन्त्येष्टि गरिएको छ। सरकार र पीडित परिवारबीच शनिबार राति सहमति भएपछि परिवारले कलैया प्रादेशिक अस्पतालको शवगृहबाट गरिमाको शव बुझेर अन्तिम संस्कार गरेको हो।
कलैया उपमहानगरपालिका–१४ बघवनस्थित पसाहा खोलामा हिन्दु परम्पराअनुसार गरिमाको अन्त्येष्टि गरिएको हो। उनका बुवा मनोज चौधरीले दागबत्ती दिएका थिए। अन्तिम संस्कारमा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, प्रहरी उपरीक्षक नरेन्द्र कुँवरलगायत सुरक्षा अधिकारीहरूको पनि उपस्थिति थियो।
गरिमाको हत्यापछि न्याय र दोषीमाथि कडा कारबाहीको माग गर्दै आन्दोलन हुँदै आएको थियो। परिवारले सरकारसँग आफ्ना मागबारे सहमति भएपछि मात्रै शव बुझेर अन्त्येष्टि गर्ने निर्णय गरेको थियो।
शनिबार गृह मन्त्रालयमा भएको छलफलपछि सरकार र गरिमाका अभिभावकबीच तीनबुँदे सहमति भएको थियो। सहमतिअनुसार जघन्य अपराधमा विद्यमान कानुनी व्यवस्था र सजाय पुनरावलोकन गरी आवश्यक कानुनी सुधारका लागि सुझावसहित प्रतिवेदन तयार गर्न सात सदस्यीय ‘गरिमा न्याय सङ्कल्प समिति’ गठन गरिनेछ। समितिले सात दिनभित्र प्रतिवेदन बुझाउने सहमति भएको छ।
त्यस्तै, पीडित परिवारको मागअनुसार गरिमाको सालिक निर्माणका लागि पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समन्वय गरी पहल गर्ने सहमति भएको छ। तेस्रो बुँदामा परिवारले आफ्नो रीतिरिवाज तथा संस्कारअनुसार गरिमाको अन्त्येष्टि गर्ने विषय समेटिएको थियो।
सरकारसँगको सहमतिपछि काठमाडौं पुगेका गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरी आइतबार बारा फर्किएका थिए। त्यसपछि प्रहरीले परिवारको समन्वयमा अस्पतालबाट शव बुझाउने प्रक्रिया अघि बढाएको थियो।
गरिमाको अन्त्येष्टिसँगै उनको परिवारले न्यायको लडाइँ भने जारी रहने बताएको छ। सरकारसँग भएको सहमतिअनुसार कानुनी सुधार, दोषीमाथिको कारबाही र गरिमाको स्मृतिमा सालिक निर्माणको प्रतिबद्धता कार्यान्वयन हुने वा नहुने विषय अब चासोको विषय बनेको छ।