झापा / पाँचथरको फाल्गुनन्द गाउँपालिकामा फैलिएको रेबिज संक्रमण स्थानीय तह, कोशी प्रदेश सरकार र संघीय सरकारका सरोकारवाला निकायको संयुक्त प्रयासपछि नियन्त्रणउन्मुख भएको छ। फाल्गुनन्द गाउँपालिकाका विभिन्न वडासँगै सदरमुकाम फिदिम क्षेत्रमा समेत संक्रमण देखिएपछि जोखिम न्यूनीकरणका लागि विज्ञ टोली परिचालन गरी खोप अभियान सञ्चालन गरिएको हो।
फाल्गुनन्द गाउँपालिका–१, २, ५, ६ र ७ मा गत असार २३ गतेदेखि रेबिज संक्रमण फैलिएको थियो। सुरुमा फाल्गुनन्द–६ र ७ मा अज्ञात स्थानबाट आएको एउटा सामुदायिक कुकुरले ठूलो संख्यामा पशुचौपाया र मानिसलाई टोकेपछि संक्रमणको जोखिम बढेको थियो। उक्त कुकुर मरेपछि परीक्षण गर्दा रेबिज पुष्टि भएको थियो। त्यसपछि कुकुरले टोकेका पशुमा धमाधम रेबिजसँग मिल्दोजुल्दो लक्षण देखिन थालेको थियो।
संक्रमणका कारण फाल्गुनन्द गाउँपालिकामा मात्रै ५० भन्दा बढी पशुचौपाया मरेका छन्। कुकुरले टोकेका पशुमा सुरुमा घाँस–कुँडो नखाने, पानी देखेर डराउने, मुखबाट र्याल चुहाउने, अस्वाभाविक रूपमा आक्रामक बन्ने तथा एकोहोरो कराउनेजस्ता लक्षण देखिएपछि अन्ततः मृत्यु हुने गरेको पशु सेवा प्राविधिकहरूले बताएका छन्।
संक्रमण फाल्गुनन्दमा मात्र सीमित रहेन। सदरमुकाम फिदिम क्षेत्रमा समेत साउन १६ गतेदेखि रेबिजको जोखिम देखिएको थियो। एउटै सामुदायिक कुकुरले करिब एक घण्टाको अवधिमा ५५ वटा सामुदायिक तथा घरपालुवा कुकुर, तीन जना मानिस र एउटा भैंसीलाई टोकेको थियो। पछि उक्त कुकुरको परीक्षण गर्दा रेबिज पुष्टि भएको थियो। साउन २७ गते फिदिम नगरपालिका–१४ मा अर्को सामुदायिक कुकुरको परीक्षणबाट समेत रेबिज संक्रमण पुष्टि भएपछि सदरमुकाम क्षेत्रमा थप सतर्कता अपनाइएको हो।
संक्रमण बढ्दै गएपछि पशु सेवा निर्देशनालय, पशु सेवा विभाग, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, स्थानीय तहलगायतका निकायले विज्ञसहितको टोली पाँचथरमा परिचालन गरेका थिए। टोलीले प्रभावित क्षेत्रको स्थलगत अध्ययन, किसान तथा जनप्रतिनिधिसँग छलफल र संक्रमित वा जोखिममा रहेका पशुको परीक्षण गर्दै रोकथामका उपायबारे सुझाव दिएको थियो।
मानिस तथा पशुका लागि आवश्यक एन्टिरेबिज भ्याक्सिनसमेत पाँचथरमा पठाइएको छ। संघीय सरकारअन्तर्गत औषधि व्यवस्था विभागमार्फत मानिसका लागि आवश्यक खोप तथा पशु सेवा निर्देशनालयमार्फत पशुचौपायाका लागि खोप जिल्लामा उपलब्ध गराइएको हो। पशुका लागि दुई हजार डोज एन्टिरेबिज खोप प्राप्त भएपछि प्रभावित क्षेत्रमा खोप अभियान सञ्चालन गरिएको थियो।
फाल्गुनन्द गाउँपालिकाका सबैभन्दा बढी प्रभावित क्षेत्र मानिएका वडा नम्बर २, ५, ६ र ७ मा तीन सयभन्दा बढी पशुचौपायालाई सामूहिक रूपमा खोप लगाइएको छ। संक्रमित पशुको स्याहारमा संलग्न किसान तथा अन्य जोखिममा रहेका व्यक्तिलाई समेत सावधानीस्वरूप एन्टिरेबिज खोप लगाइएको गाउँपालिकाले जनाएको छ।
यता फिदिम नगरपालिकाले पनि सामुदायिक तथा घरपालुवा कुकुरलाई लक्षित गरी खोप अभियान अघि बढाएको छ। संक्रमण देखिएयता फिदिममा सात सयभन्दा बढी सामुदायिक तथा घरपालुवा कुकुरलाई रेबिजविरुद्धको खोप लगाइसकिएको जनाइएको छ। नगरपालिकाका प्राविधिक र नगर प्रहरी टोलीले बजार तथा बस्ती क्षेत्रमा पुगेर सामुदायिक कुकुरको खोजी गरी खोप लगाउने कामलाई निरन्तरता दिएका छन्।
पछिल्लो समय प्रभावित क्षेत्रमा थप पशुमा संक्रमण नदेखिन थालेपछि अवस्था क्रमशः सुधारोन्मुख रहेको पशु चिकित्सकहरूले बताएका छन्। पछिल्ला केही दिनमा नयाँ पशुमा संक्रमण नदेखिनु र प्रभावित क्षेत्रमा खोप अभियान तीव्र पारिनुले संक्रमण नियन्त्रणमा आउने अपेक्षा गरिएको छ।
तर संक्रमणका कारण ठूलो क्षति व्यहोरेका किसानका लागि राहत र क्षतिपूर्तिको विषय भने अझै चुनौतीकै रूपमा रहेको छ। रेबिजका कारण फाल्गुनन्द–६ र ७ लगायतका क्षेत्रमा कतिपय किसानका गोठ नै रित्तिएका छन्। पशु बीमा नगरिएका कारण मरेका पशुका लागि किसानले सहज रूपमा राहत तथा क्षतिपूर्ति पाउने अवस्था नरहेको बताइएको छ।
रेबिज संक्रमण नियन्त्रणउन्मुख भए पनि जोखिम पूर्ण रूपमा हटिसकेको छैन। त्यसैले प्रभावित क्षेत्रका बासिन्दालाई सामुदायिक तथा घरपालुवा कुकुरको अनियन्त्रित आवतजावत रोक्न, कुकुर तथा अन्य जनावरलाई नियमित खोप लगाउन र रेबिजको शंका लागेका पशुलाई तत्काल अलग राखेर पशु स्वास्थ्यकर्मीलाई जानकारी गराउन आग्रह गरिएको छ। मानिसलाई कुकुर वा अन्य सम्भावित संक्रमित जनावरले टोकेमा घाउ तत्काल साबुनपानीले सफा गरी स्वास्थ्य संस्थामा पुगेर चिकित्सकीय सल्लाहअनुसार एन्टिरेबिज खोप लगाउनु आवश्यक हुन्छ।
स्थानीय तहदेखि प्रदेश र संघीय सरकारका निकायसम्मको समन्वयमा खोप, प्राविधिक टोली र जनचेतनामूलक गतिविधि अघि बढेपछि पाँचथरमा फैलिएको रेबिजको अवस्था नियन्त्रणतर्फ उन्मुख देखिएको हो। यद्यपि जोखिम पूर्ण रूपमा समाप्त नभएकाले खोप अभियान र निगरानीलाई निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको छ।