झापा । श्रीमान–श्रीमती बीचको हत्याका घटना झापामा ५० प्रतिशत छन् । अझ यसमा श्रीमानले श्रीमतीको हत्या गरेका घटना ८० प्रतिशतको हाराहारीमा रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । मदिरा सेवनपछिको विवाद, रिसिइवी, आर्थिक लेनदेनका कारण हत्याका घटनाहरु हुने गरेको प्रहरी अनुसन्धानले देखाएको हो ।
सातमहिनामा १२ जनाको हत्या
जिल्लामा सातमहिनाको अवधिमा १२ जनाको हत्या माथि उल्लेखित कारणले नै घटेको प्रहरीको भनाइ छ । चालु आर्थिक वर्ष २०८०÷०८१ को साउनदेखि फागुन दोस्रो सातासम्म ९ पुरुष र ३ महिलाको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अधिकांश घटनामा परिवार , आफन्त धेरै नजीकको साथीभाईहरु संलग्न रहेको प्रहरीको अभिलेखले देखाएको छ ।
श्रीमानले श्रीमतीको, श्रीमतीले श्रीमानको, साथीले साथीकै छिमेकीले छिमेकीको, चिनजानकै भरमा हत्याका घटना हुने गरेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी ढुण्डीराज गिरीले जानकारी दिए ।
कर्तव्य ज्यानमा २५ जना पक्राउ
कर्तव्य ज्यान कसुरमा यो अवधिमा २४ पुरुष र १ महिलागरी २५ जनालाई पक्राउ
गरिएको गिरीले जानकारी दिए ।
सवैभन्दा बढी असोज महिनामा ३ पुरुष र १ महिला गरी ४ जनाको हत्या भएको र त्यसमा संलग्न १८ जनालाई प्रहरीले पक्राउ गरेको प्रहरीको अभिलेखमा उल्लेख छ । छुरा प्रहार र कुटपिट बाट आफ्नै साथीभाई र श्रीमानले श्रीमतीको हत्या गरिएकोे अभिलेखमा उल्लेख छ । यसैगरी माघ महिनामा फलामको हम्बर प्रहार गरेर र कुटपिटबाट तीन जनाको हत्या भएको छ । दुई महिला र एक पुरुषको हत्या भएको प्रहरीले जनाएको छ । त्यसमा संलग्न भएको आरोपमा दुईजना पुरुषलाई प्रहरीले पक्राउ गरेको थियो ।
श्रीमानले श्रीमतीलाई कुटपिट गरी हत्या गरेका अन्य दुईजनालाई नाता सम्बन्ध नभएको मानिसले कुटपिट गरी मारेको प्रहरी निरीक्षक गिरीको भनाई छ । साउनमा दुईजना पुरुषको हत्या भएको छ । प्रहरीका अनुसार घटनामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको थियो । कात्तिक, मङ्सिर र पुसमा एक÷एकजना पुरुषको हत्या भएको छ भने माघमहिना एकजना महिलाको हत्या गरिएको अभिलेखमा उल्लेख छ भने फागुनको दोस्रो हप्तासम्म हत्याका घट्ना नभएको प्रहरीको तथ्याङ्कले देखाएको छ । घटनामा संलग्न रहेको भन्दै साउन,कात्तिक, मङ्सिर, पुसमहिनामा एक÷एकजना पुरुषलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
सवै हत्याका घटनामा घरेलु हतियार प्रयोग
सवै हत्याका घटनामा घरेलु हतियार प्रयोग भएको प्रहरीले गरेको अनुसन्धानले देखाएको छ । ढोका लगाउने चुक्कुल, बास, फलामको बाम्फोक, खुकुरी, फलामको हम्बर प्रयोग भएका छन् ।
साउनमा भएको घटनाको एउटा मुद्दामा प्रतिवादी नखुलेको प्रहरीको भनाई छ । परिवारभित्रका घटनालाई केलाउँदा अन्य सदस्यको तुलनामा श्रीमान—श्रीमतीले एक अर्काको हत्या गर्ने क्रम बढेको देखिन्छ । दाम्पत्यभित्र हुने हत्याका अधिकांश घटनाको भित्री कारण पैसा, अविश्वास, यौनसम्बन्ध वा विवाहेत्तर सम्बन्ध रहेको देखिएको बताईएको छ ।
हत्याका घट्नामा बृद्धि
यता गत आर्थिक वर्ष ०७९।८० मा ४ पुरुष र ५ महिला गरी ९ जनाको हत्या भएको तथ्याङ्मा उल्लेख छ । सो अवधिमा १० वटा मुद्दा दर्ता भएका थिए भने १४ जनालाइ प्रहरीले पक्राउ गरेको उल्लेख छ । दुइ आर्थिक वर्षको तथ्याङ्क हेर्दा चालु आर्थिक वर्षमा झापामा हत्याका घट्नामा बृद्धि भएको देखिन्छ ।
परिवार र आफन्त भित्रै हुने हत्याका अधिकांश घटना आवेगप्रेरित देखिएको प्रहरीको भनाई छ । घरेलु हिंसा,आर्थिक तथा ,मानसिक समस्या,शङ्का, विवाहेत्तर सम्बन्ध, वैदेशिक रोजगारी, जाँड÷रक्सी र लागूऔषधका कारण पनि यस्ता घटना हुने गरेको प्रहरी अधिकारी बताउँछन् ।
पहिले सङ्गठित हत्या अहिले परिवार र आफन्त भित्रै
पहिले सङ्गठित हत्या हुने गर्थे भने अहिले परिवार र आफन्त भित्रै हत्या हुने गरेको प्रहरीको भनाइ छ ।
मदिरा सेवनपछिको विवाद, रिसिईवी, आर्थिक लेनदेनका कारण हत्याका घटनाहरु भएको देखिएको प्रहरी अनुसन्धानले बताएको छ । पछिल्लो समयमा असहनशील र उत्तेजक प्रवृत्तिले भएका घटनाका प्रशस्तै उदाहरण छन् । यस्तो असहनशीलता मर्ने र मार्नेसम्म पुगेको छ । त्यो घरबाहिर होस् या घरभित्र । तथापि परिवार र आफन्तबीच हुने हत्याका श्रृङ्खला त्यसमा मात्रै सीमित छैन । सामाजिक बनावट, घरभित्रको वातावरण, अविश्वास, विवाहेत्तर सम्बन्ध, यौन, आर्थिक कारोबारले निम्त्याएको विवाद, आवेग, उत्तेजना र तनावलाई नियन्त्रण गर्न नसक्दा पनि एकले अर्काको हत्या गर्ने गरेको अनुसनधानका क्रममा खुलेको प्रहरीको भनाई छ ।
रिसलाई नियन्त्रण गर्न, परिवार र समाजलाई व्यवस्थापन गर्न सकियो भने पनि यस्ता घटना कम गर्न सकिने प्रहरीको बुझाई छ । यस्ता घटना कुनै उमेर समूहमा मात्रै सीमित देखिँदैन । लागूऔषधको प्रयोग र मदिराको सेवन गर्ने व्यक्तिले सन्तुलन गुमाउने डर अत्याधिक रहन्छ । त्यसैले स–साना विषयमा हुने झैझगडा वा सानो विषयको विवाद पनि हत्यासम्म पुगेको थुप्रै उदाहरण रहेको बताइएको छ ।
रिस, आवेग, तनाव र मानसिक समस्याको कारण हत्या
अहिले परिवार र आफन्तमा भएका अधिकांश हत्याको प्रवृत्ति हेर्ने हो भने रिस, आवेग, तनाव र मानसिक समस्याको कारणले भएको देखिन्छ । अहिले व्यक्तिले अर्काको भावना नबुझ्ने, सहयोग नगर्ने प्रवृत्ति देखिएको छ । यो पनि मानसिक समस्याको उपज हो । जसका कारण स–साना कुरामा पनि आक्रोशित हुँदा व्यक्तिले अपराधको सहारा लिने गरेको पछिल्ला उदाहरणबाट बुझ्न सकिन्छ ।
आफन्तले रिस उठाए भने बदलाको भावना लिने, सहन नसक्ने, पीडित हुने, गाह्रो हुने स्वभाव बढ्छ । यो परिस्थितिमा आफ्नैले आफ्नैलाई हत्या, अरूको हत्या गर्ने जस्ता घटनाको क्रम बढ्दै जाने विज्ञहरुको भनाई छ । परिवार आफन्तभित्रै हुने हत्याको पछाडिको कारण सामाजिक विचलन भएको उनीहरुको बुझाई छ ।
श्रीमान र श्रीमतीबीच उब्जिएको शङ्का, उपशङ्का, अविश्वास, धर्म, संस्कार, चरित्र, बदला र चित्त नबुझे पनि सम्बन्धमा रहनुपर्ने दवाबले गर्दा पनि एक बिन्दुमा पुगेपछि एक अर्काको हत्यासम्म गराउने गरेको थुप्रै उदाहरण छन् ।