झापा / रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी अहिलेसम्म ७ जनाको शव फेला परेको छ। बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी दीपक रेग्मीका अनुसार नुवाकोटमा ३ जना र धादिङमा ४ जनाको शव फेला परेको हो।
बाढीले बगाएर ल्याएका शवहरू नदी किनारका विभिन्न स्थानमा फेला परेका हुन्। प्रहरीले फेला परेका शव संकलन गर्ने, पहिचान गर्ने तथा बाढीमा बेपत्ता भएका व्यक्तिहरूको खोजी गर्ने काम एकसाथ अघि बढाइरहेको जनाएको छ। बाढीपछि विभिन्न व्यक्तिहरू सम्पर्कविहीन भएको सूचना प्राप्त भइरहेकाले मृतकको संख्या अझ बढ्न सक्ने आशंका छ।
बुधबार बिहान रसुवाको टिमुरे क्षेत्रमा अचानक ठूलो बाढी आएको थियो। तिब्बततर्फबाट भोटेकोशी हुँदै आएको बाढीले टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीले सडक, पुल, बस्ती तथा जलविद्युत् आयोजनाका संरचनामा समेत क्षति पुर्याएको प्रारम्भिक विवरण छ।
बाढीको बहाव भोटेकोशी हुँदै नुवाकोट र धादिङतर्फ पुगेपछि नदी किनारमा शव फेला पर्न थालेका हुन्। केही सञ्चारमाध्यमले बाढीको प्रभाव चितवनतर्फका नदी प्रणालीसम्म पुगेको उल्लेख गरेका छन्।
उता, प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र बनाइएको छ। नेपाली सेनाले टिमुरे र स्याफ्रुबेँसीबाट ७ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिसकेको छ। हेलिकोप्टर अवतरण गर्न कठिन भएपछि बास्केटमार्फत उद्धार गरिएको सेनाले जनाएको छ। टिमुरे, स्याफ्रुबेँसी, मेलुङ र त्रिशूली क्षेत्रमा सेनाका चार हेलिकोप्टर परिचालन गरिएका छन्।
घाइतेको उपचारका लागि त्रिशूलीमा नेपाली सैनिक अस्पताल छाउनीबाट २० जनाको मेडिकल टोलीसमेत परिचालन गरिएको छ। बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइतेलाई उपचारका लागि सुरक्षित स्थानमा ल्याउने काम भइरहेको छ।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण भने अझै प्राप्त हुन सकेको छैन। दुर्गम तथा सञ्चार सम्पर्क कठिन भएका क्षेत्रमा उद्धार टोली पुग्न समस्या भइरहेकाले वास्तविक क्षतिको विवरण संकलन हुन समय लाग्ने देखिएको छ।
प्रहरीले नदी किनारमा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान, नदीमा नजान तथा बाढीसम्बन्धी आधिकारिक सूचनामात्र विश्वास गर्न आग्रह गरेको छ। अहिले सुरक्षाकर्मीको प्राथमिकता बेपत्ताको खोजी, घाइतेको उद्धार र थप मानवीय क्षति रोक्नु रहेको छ।