झापा / रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक भीषण बाढीले जिल्लाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीबाट विशेषगरी स्याफ्रुबेँसी, टिमुरे र रसुवागढी आसपासका बस्ती, बजार तथा भौतिक संरचना प्रभावित भएका छन्।
बाढी अचानक आएको र क्षतिको पूर्ण विवरण संकलन भइनसकेको जिल्ला प्रशासनले जनाएको छ। प्रारम्भिक विवरणअनुसार बाढीले घर तथा बजार क्षेत्रसँगै सडक, पुल, सरकारी कार्यालय र अन्य पूर्वाधारमा क्षति पुर्याएको छ। स्याफ्रुबेँसी बजार बाढीबाट बढी प्रभावित क्षेत्रमध्ये एक रहेको बताइएको छ।
बाढीले टिमुरे क्षेत्रको इलाका प्रहरी कार्यालय, स्याफ्रुबेँसी प्रहरी चौकी र रसुवागढी प्रहरी चौकीमा समेत क्षति पुर्याएको प्रहरीले जनाएको छ। टिमुरे क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूसँग सम्पर्क हुन नसकेको विवरणसमेत सार्वजनिक भएको छ।
बाढीका कारण रसुवाको ऊर्जा पूर्वाधारमा पनि गम्भीर असर परेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार रसुवागढी, चिलिमे र त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्र तथा त्रिशूली–३ ‘बी’ हबको २२० केभी सबस्टेसनमा क्षति पुगेको छ। त्रिशूली र देवीघाट जलविद्युत् केन्द्र तथा वितरण संरचनासमेत प्रभावित भएका छन्। यसका कारण रसुवा तथा आसपासका केही क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ।
बाढीले सञ्चार पूर्वाधारमा समेत क्षति पुर्याएको छ। नेपाल टेलिकमका रसुवा र नुवाकोटमा रहेका टावर तथा अप्टिकल फाइबरमा क्षति पुगेपछि कतिपय क्षेत्रमा फोन तथा इन्टरनेट सेवा प्रभावित भएको जनाइएको छ।
बाढीको बहाव तलतिर बढ्दै गएपछि नुवाकोट, धादिङ हुँदै त्रिशूली नदी आसपासका बस्तीमा समेत उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढी गोरखा हुँदै चितवनतर्फ समेत जोखिम बढाउन सक्ने भन्दै नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा जान र नदीमा नजान प्रशासनले आग्रह गरेको छ।
बाढीको कारणबारे भने अहिलेसम्म स्पष्ट तथ्य सार्वजनिक भएको छैन। प्रारम्भिक विवरणमा पानीको ठूलो बहाव तिब्बततर्फबाट आएको बताइएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारीले जिल्लाको सदरमुकाम आसपास ठूलो वर्षा नभएको र बाढी अचानक आएको बताएका छन्। माथिल्लो क्षेत्रमा हिमताल फुटेको हो वा अन्य कारणले आकस्मिक बाढी आएको हो भन्ने विषयमा यकिन हुन बाँकी छ।
घटनापछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी खोज तथा उद्धार कार्य अघि बढाइएको छ। उद्धारका लागि नेपाली सेनाका दुई हेलिकोप्टरसमेत परिचालन गरिएको छ। बाढी प्रभावित क्षेत्रको वास्तविक क्षति, मानवीय क्षति र बेपत्ताको यकिन विवरण भने उद्धार तथा खोजी कार्य अघि बढेसँगै मात्रै स्पष्ट हुने देखिएको छ।
प्रशासनले नदी किनार, जोखिमयुक्त बस्ती तथा आयोजनामा रहेका सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन र आधिकारिक सूचनामात्र विश्वास गर्न आग्रह गरेको छ।