बिर्तामोड प्रहरी एक्सनमा उत्रिएपछि बिर्तामोड बसपार्कमा रहेका होटलहरु बन्द भएका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडले आफ्नो क्षेत्रभरिका सबै होटल र लजहरुमा छापा मार्न शुरु गरेपछि बसपार्कका होटलहरु बन्द भएका हुन् । प्रहरीले हिजो राति बिर्तामोड ३ सैनिकमोडस्थित मेची आँखा अस्पताल क्षेत्रका होटलहरुमा छापा मारी १३ जनालाई पक्राउ गरेको थियो । बिर्तामोडका होटलहरुमा यौनधन्दा फेरि मौलाउँदै गएपछि प्रहरी एक्सनमा उत्रिन बाध्य बनेको हो । गुनासो आएका बिर्तामोडका सबै होटलहरुमा सर्च अपरेसन गरिने इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठकले बताए । उनले सबै होटल र लजहरुमा प्रहरीले निगरानी गरिरहेको जानकारी दिएका छन् ।
बिर्तामोड बसपार्कका होटलहरु यतिबेला सुनसान रहेको स्थानीयले बताएका छन् । केही दिनदेखि त्यहाँको प्रहरीले गस्ती गरी कडाई गरिरहेको छ । बिर्तामोड बसपार्कमा करिव सयवटाको संख्यामा होटलहरु रहेका छन् । विगतमा ती होटलहरु यौन व्यवसायका लागि कलंकित भएका थिए ।