झापा । झापाकाे बुद्धशान्तिमा रहेकाे आदर्श युवा क्लबले आदर्श मलामी बिश्रामलय चिलिम गडि घाट ब्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।
आदर्श युवा क्लबले क्लबका पुर्ब अध्यक्ष तथा बुद्धशान्तिका प्रथम राष्ट्रिय एन्फा रेफ्री लोकराज ढुंगानाको स्मृतिमा करिव डेड लाखको लागतमा नवनिर्मित आदर्श मलामी बिश्रामलय घाट ब्यवस्थापन समितिका अध्यक्ष कमल उप्रेतिलाई हस्तान्तरण गरेको हाे।
कार्यक्रममा बोल्दै घाट ब्यवस्थापन समितिका अध्यक्ष उप्रेतीले आदर्श युवा क्लबले खेलकुदका साथै विभिन्न सामाजिक गतिबिधिमा सक्रिय रहेको भन्दै खुशी व्यक्त गरे । उनले भने, ' चिलिम गडि घाटमा मलामी बिश्रामलय निर्माणले स्थानीय क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् । अव देखि बेबारिसे अवस्थामा रहेका शव ब्यवस्थापनको लागि हामीले एक लाख रुपैयाँको अक्षय कोष स्थापना गर्न लागेकाेले सबैले सहयोग गरिदन अनुराेध गरेकाे छु' ।
यस्तै क्लबका अध्यक्ष श्रेष्ठले सामाजिक दायित्व अन्तर्गत आदर्श मलामी बिश्रामलय निर्माण गरिएको र आगामी दिनमा स्थानीय संघ संस्थासङ्ग हातेमालो गर्दै विभिन्न सामाजिक क्रियाकलापलाई अगाडि बडाउने बताए ।
सोही अवसरमा चिलिम गडिको फोहोरमैला पनि सरसफाइ गरिएको अध्यक्ष श्रेष्ठले बताए । साथै क्लबले बुद्धशान्ति ३ को वृद्ध चौतारिलाई १५ हजार रुपैयाँ बराबरको स्टिल दराज वृद्ध चौतारीका उपाध्यक्ष तुलसी खतिवडालाई हस्तान्तरण गरिएको थियो ।
वि.स. २०५२ सालमा स्थापित बुद्धशान्तिकै सबैभन्दा पुरानो क्लब आदर्श युवा क्लबले खेलकुद , सास्कृतिक र विभिन्न सामाजिक गतिबिधिमा सक्रिय रहदै समाजमा सकारात्मक परिवर्तनको लागि युवा एकतामा जोड दिदै आएको सचिव दुर्योधन सिंह देवले जानकारी गराए । यस्तै क्लबले विभिन्न चरणमा फुटबल प्रतियोगिता गरेर बचत भएको रकम र आन्तरिक आयश्रोतबाट क्लबले सटरसहित भएकाे ६ कोठे भवन निर्माण गरेको छ ।
क्लबका सचिव देवले संचालन गरेको कार्यक्रममा घाट ब्यवस्थापन समितिका केशव प्रसाद सापकोटा, पदम पोख्रेल र क्लबका तर्फबाट उपाध्यक्ष मिलन मुखिया, सदस्य खडग श्रेष्ठ र तारा गौतमको उपस्थिति रहेको थियो ।